
काठमाडौं । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रंगशाला मंगलबार राती नेपाली समर्थकहरूले छपक्कै ढाकिएको थियो । रंगशालाभरि निलो र रातो रङका जर्सी लगाएका समर्थकले नेपालको पक्षमा हुटिङ गरिरहेका थिए । अमेरिकामा भए पनि रौनक र झल्को टियु रंगशालाको भन्दा कम थिएन । रंगशालामा डच समर्थक भेट्नै मुस्किल थियो ।
सम्पूर्ण वातावरण नेपालको पक्षमा थियो । तर, नतिजा नेपालको विपक्षमा गयो । टी-२० विश्वकपको पहिलो खेलमा नेपालले साथ नपाएको पक्ष भनेको ‘टस’ र मौसम रहृयो । बिहानको चिसो मौसमले ब्याटिङ गर्न साथ दिएन भने दिउँसो चर्केको घाम बलिङ सहयोगी बनेको देखिएन । अनि नेपालको बलिङ र फिल्डिङ हारको कारक बन्यो ।
आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले सुखद सुरुवात गर्न सकेन । १० वर्षपछि टी-२० विश्व क्रिकेटमा फर्किएको नेपाल मंगलबार राती नेदरल्याण्ड्ससँग स्तब्ध बन्यो । नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भयो । डच टोलीले १०७ रनको सामान्य लक्ष्य ८ बलअगाडि नै चार विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्याण्ड्सका म्याक्स ओ’डडले अविजित ५४ रन बनाउँदै टोलीलाई विजयी सुरुवात गराउनुभयो । सोमपाल कामीको बलमा कप्तान रोहित पौडेलले ४१ रनमा ओ’डडको क्याच छोड्नुभएको थियो । त्यसअघि सोमपालले दोस्रो ओभरमै माइकल लेभिटलाई १ रनमा आउट गर्नुभएको थियो । विक्रमजित सिंहले २८ बलमा २२ रन बनाउनुभयो । साइब्रान्ड इंगलब्रेक्टले १६ बलमा १४ रन बनाउनुभयो । नेपालका लागि सोमपाल, अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिनुभयो ।
यसअघि डालासस्थित ग्रान्ड प्रेरी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर पनि खेल्न सकेन । नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट भयो । कप्तान रोहितले टिकेर खेले पनि अन्य ब्याटरले बलियो साथ दिन सकेनन् । रोहितले ३७ बलमा ३५ रन बनाउनुभयो । रोहितले ५ चौका प्रहार गर्नुभएको थियो । तल्लो क्रममा करण केसीले २ छक्कासहित १२ बलमा १७ रन बनाउनुभयो । गुलशन झाले १५ बलमा १ चौकासहित १४ रन बनाउँदा अविनाश बोहरा पहिलो बलमै आउट हुनुभयो ।
नेपालको सुरुवात नै राम्रो हुन सकेन । आसिफ शेख ८ बलमा ४ रन बनाई आउट हुनुभयो । कुशल भुर्तेलको खराब फर्म जारी नै रहृयो । उहाँ १० बलमा ७ रन बनाएर आउट हुनुभयो । अनिल साह १२ बल खेल्दै २ चौका प्रहार गरी ११ रन बनाएर आउट हुनुभयो ।
कुशल मल्ल ९, दीपेन्द्रसिंह १, सोमपाल शून्यमा आउट हुनुभयो । नेदरल्याण्ड्सका प्रिंगलले ४ ओभरमा २० रनमात्र खर्चेर ३ विकेट लिनुभयो । पाउल भान मिकेरेनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिनुभयो ।
नेपाललाई कमजोर ब्याटिङ र खराब फिल्डिङले डुबायो । १०७ रनको झिनो लक्ष्य रक्षा गर्न नेपालका बलरहरूले साहसिक प्रदर्शन गरे । उनीहरूले ब्याट्सम्यानहरूलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राखेका थिए । तर, महत्वपूर्ण समयमा महत्वपूर्ण ब्याट्सम्यानको क्याच मिस गर्नु नेपालका लागि घातक बन्यो । १७.२ ओभरमा सोमपाल कामीको बललाई म्याक्स ओ’डड हावामा खेल्दा रोहितले क्याच छुटाउनुभयो । रोहित सामान्यतया नेपालका राम्रा फिल्डर मानिनुहुन्छ । योभन्दा अगाडि पनि नेपालले एउटा क्याच ड्रप गरेको थियो भने एउटा रनआउट चान्स मिस गरेको थियो । नेदरल्याण्ड्सले भने उत्कृष्ट फिल्डिङ गर्यो । कुनै पनि क्याच मिस गरेन ।
समूह ‘डी’ मा रहेको नेपालले १२ जुनमा फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ । त्यसपछि नेपाल वेष्ट इण्डिज जानेछ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्नेछ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले हारेको थियो । उक्त खेलमा श्रीलंका ७७ रनमा अलआउट भएको थियो ।
यस्तै, मंगलबार राती नै तय भएको इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल भने वर्षाका कारण नतिजाविहीन भयो । बार्बाडोसस्थित क्यानिङटन ओभल मैदानमा स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो । वर्षाका कारण खेल १०-१० ओभरको भएको थियो । तर, वर्षा भएपछि इंग्ल्याण्डको टोलीले एक बल पनि खेल्न नपाई खेल रद्द भयो र दुवै टोली अंक बाँड्न बाध्य भए ।
‘बाँकी खेलमा ठूला टोलीलाई हराएर खुसी दिनेछौँ’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले नेदरल्याण्ड्सविरुद्धको खेलमा दर्शकलाई खुसी दिन नसकेको बताउनुभएको छ । अब हुने अर्को खेलमा नेदरल्याण्डसँगको जस्तो गल्ती नदोहो¥याउने उहाँले बताउनुभयो । नेदरल्याण्डसँग पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा सोमपालले भन्नुभयो, ‘हामीले नेपाली समर्थकलाई खुसी दिन सकेनौँ ।’
सोमपालले राम्रो लक्ष्य दिन नसकेको स्वीकार गर्नुभएको छ । ‘यस्तो कन्डिसनमा टसले धेरै नै भूमिका खेल्छ । तर पनि हाम्रो हातमा टस नियन्त्रण थिएन । हामीलाई पहिला ब्याटिङको निम्तो भएपछि हामीले यो विकेटमा जति सक्दो धेरै रन बनाउने जिम्मेवारी हुन्छ । तर, हामीले राम्रो लक्ष्य दिन सकेनौँ,’ उहाँले भन्नुभयो, ‘तर, ब्याटिङ सजिलो भने थिएन । यो विकेटमा ब्याटिङ गर्न कहीँ न कहीँ गाह्रो थियो ।
कन्डिसन पनि त्यस्तै थियो । २०-३० रन कम भएको मलाई लाग्छ । त्यो रन बनाउन सकेको भए हाम्रो पक्षमा लय आउँथ्यो । हाम्रा समर्थकहरू हामीले जितेको हेर्न चाहनुहुन्छ । हामी पनि जित्न प्रयास गर्छौं । हजारौँ दर्शक यहाँ आउँदा धेरै-धेरै धन्यवाद दिन चाहन्छु । हामीले खुसी दिन सकेनौँ । तर, हामीले शतप्रतिशत दिएका थियौँ । हामी बाँकी खेलमा ठूला टोलीलाई हराएर खुसी दिनेछौँ ।’
यस्तै, अर्का खेलाडी करण केसीले खेलमा साना-साना गल्ती गर्न पुगेको स्वीकार गर्नुभयो । ‘यो विकेट मध्यम गतिका बलरका लागि राम्रो छ । त्यही भएर हामीले चारजना मध्यम गतिका बलर लिएर खेल्यौँ । तर, हामीले खेलमा स-साना गल्तीहरू गर्न पुग्यौँ,’ केसीले भन्नुभयो, ‘तर, यहाँ हामी बलिङ र ब्याटिङ गर्न सक्छौँ भन्ने प्रमाणित गर्न आएका हौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच