काठमाडौं । नेपालले टी २० विश्वकप खेल्ने तयारी गरिरहँदा क्रिकेटर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।
लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको छ ।
मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि कार्यालय भने खुला रहने छ ।
आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएपछि उनले सामाजिक सञ्जालमा आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा खुशी भएको अभिव्यक्ति दिएका छन् ।
उनले लेखेका छन्, ' इमानदारीपूर्वक, मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’






