नयाँदिल्ली । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले भारतका पूर्वक्रिकेटर गौतम गम्भीरलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । वर्तमान मुख्य प्रशिक्षक राहुल ड्रविडको कार्यकाल अमेरिका र वेष्ट इण्डिजमा जुनमा आयोजना हुने आइसिसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपपछि समाप्त हुँदैछ । ड्रविडले भने आफ्नो कार्यकाल नथप्न बिसिसिआईलाई जानकारी गराइसकेको जनाइएको छ ।
ड्रविडको कार्यकाल समाप्त भएपछि गम्भीरलाई मुख्य प्रशिक्षक बनाउने योजनामा बिसिसिआई रहेको क्रिकइन्फोले जनाएको हो । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम कोलकाता नाइट राइडर्सका मेन्टर रहनुभएका गम्भीरसँग बिसिसिआईका पदाधिकारीले मुख्य प्रशिक्षक बन्नेबारे छलफल गरेका हुन् ।
मुख्य प्रशिक्षकको पदका लागि आवेदन दिने समय मे २७ तारिखसम्म रहे पनि आइपिएलको समाप्तिपछि थप छलफल हुने बताइएको छ । ४२ वर्षीय गम्भीरसँग कुनै पनि अन्तर्राष्ट्रिय या घरेलु टोलीलाई प्रशिक्षण दिएको अनुभव छैन । उहाँ यसअघि आइपिएल २०२२ र २०२३ मा लखनउ सुपर जायन्ट्सको मेन्टर हुनुहुन्थ्यो र दुवैपटक टोलीले प्लेअफमा स्थान बनाएको थियो । एजेन्सी ।






