काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्स पराजित भएको छ। वनखडे रंगशाला मुम्बईमा लखनउ सुपर जायन्ट्स र मुम्बईले अन्तिम प्रतिस्पर्धा गरेका हुन्।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले ६ विकेटको क्षतिमा २१४ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरन र कप्तान केएल राहुलले अर्धशतक बनाए।
पुरनले मात्र २९ बलमा ५ चौका र ८ छक्काको मद्दतमा ७५ रन बनाए भने कप्तान राहुलले सम्हालिएर खेल्दै ४१ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५५ रन बनाए। मार्कश स्टोनिसले २८, आयुष बदोनले २२ रनको योगदान दिए ।
मुम्बईका लागि नुवान तुषारा र पियुष चावलाले समान तीनतीन विकेट लिए। २१५ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि अन्तिम खेलमा रोहित शर्मा र नविन धिरले अर्धशतक बनाए पनि जितका लागि त्यो पर्याप्त भएन। ३८ बल खेल्दै १० चौका र ३ छक्काको मद्तमा शर्माले ६८ रन बनाए भने धिरले २८ बलमा ४ चौका र ५ छक्काको मद्तमा नटआउट ६२ रन बनाए।
मुम्बईका लागि डिवाल ब्रेभिसले २३, कप्तान हार्दिक पाण्डेय १६, इसन किशन १४ रनमा समेटिए।
मुम्बईलाई सस्तैमा समेट्न लखनउका लागि नवीन उलहक र रवि बिश्नोईले समान दुईदुई विकेट हात पारे भने क्रुनाल पाण्डेय र मोहसिन खानले समान एकएक विकेट हात पारे।
प्लेअफ पुग्न लखनउले ठुलो अन्तरको जित र अन्य खेलमा भर पर्नुपर्ने आवश्यक थियो। १८ रनको जितले लखनउलाईसमेत प्लेअफको ढोका बन्द गरिदिएको छ। समान १४ अंकसहित रन रेटको आधारमा माथि रहेको चेन्नईले एक खेल खेल्न बाँकी छ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता