पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले हात पार्नुभएको छ । यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा पर्नुभएको थियो ।
वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पार्नुभयो । यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा हुनुहुन्थ्यो । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्न सफल हुनुभएको छ ।
१७ वर्षमुनिका खेलाडीबीच प्रतिस्पर्धा भएको उदीयमान खेलाडी विधाको अवार्ड ब्याडमिन्टनकी दिलासा रानाको पोल्टामा प¥यो । रानासहित क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की यो विधाको मनोनयनमा हुनुहुन्थ्यो ।
वर्ष उत्कृष्ट प्रशिक्षक विधामा भलिबलका रमेश केसी अब्बल बन्नुभयो । केसीसहित टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु मनोनयनमा पर्नुभएको थियो । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद ३५ हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गरे । उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै, यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरिएको थियो । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरियो । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिएको थियो ।
वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकारतर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँका साथमा अवार्ड प्राप्त गरे ।
यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरीयता प्राप्त खेलाडी अभिषेक बास्तोलालाई विशेष (स्पेसल) अवार्डबाट सम्मान गरिएको थियो ।
अवार्ड विजेता तथा मनोनयनमा पर्न सफल सबैजनालाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिलामन्त्री हरिबहादुर चुमान, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य-सचिव श्रीधर शर्मा, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललगायतले अवार्ड र मनोनयन ट्रफीसहितका पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । अवार्ड वितरण गर्न रोहितराज पराजुलीको संयोजकत्वमा प्रतिभा छनोट समिति निर्माण गरिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता