काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्सविरुद्ध सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको छ।
१५ बलमा २७ रन बनाएर खेलिरहेका राजस्थानका रोभम्यान पावेललाई अन्तिम ओभरको अन्तिम बलमा हैदरावादका भुवनेश्वर कुमारले एलबिडब्लु धरापमा पारेपछि राजस्थान १ रनले पराजित भएको हो।
पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थान सात विकेटको क्षतिमा २०० रनमा समेटिएको हो। हैदरावादका लागि ४१ रन खर्चिएर भुवनेश्वर कुमारले तीन विकेट हात पारे।
यो जितसँगै हैदरावाद १२ अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ। राजस्थान भने १६ अंकसहित शीर्ष स्थानमा कायमै छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको हैदरावादका लागि ट्रेभिस हेड र नितिश कुमार रेड्डीले अर्धशतकीय इनिङ खेले। नितिशले नटआउट ४२ बलमा ७६ रन बनाउँदा हेडले ४४ बलमा ५८ रन जोडेका थिए। हेनरिक क्लासेन ४२ रनमा नटआउट रहे।
राजस्थानका आवेश खानले दुई विकेट हात पार्दा सन्दीप शर्माले एक विकेट लिए।
आईपिएल अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्स र कलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts