वेलिंग्टन । आगामी जुनमा अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ । सोमबार न्युजिल्याण्ड क्रिकेट बोर्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । न्युजिल्याण्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडले जुनको पहिलो साताबाट सुरु हुने प्रतियोगितामा टोलीबीचको फरक अवस्थालाई ध्यानमा राखेर खेलाडी छनोट गरिएको बताउनुभयो । ‘वेष्ट इण्डिजको अवस्था एकदम फरक र चुनौतीपूर्ण हुनेछ । त्यसैले हामीले परिस्थितिअनुसार टोली छनोट गरेका छौँ,’ उहाँले भन्नुभयो ।
विश्वकपमा न्युजिल्याण्ड समूह ‘सी’ मा रहेको छ । समूह ‘सी’ मा न्युजिल्याण्डका अलावा आयोजक वेष्ट इण्डिज, अफगानिस्तान, पपुवा न्युगिनी, युगाण्डा छन् । ७ जुनमा अफगानिस्तानसँग खेल्दै न्युजिल्याण्डले विश्वकपको सुरुवात गर्नेछ । यस्तै, नेपालको विश्वकप टिम घोषणा हुन बाँकी छ । आसन्न टी-२० विश्वकप १ जुनदेखि आयोजना हुँदैछ ।
टोलीमा रहनुभएका बलर म्याट हेनरी र ब्याटिङ अलराउण्डर रचिन रविन्द्रमात्र आइसिसी टी-२० विश्वकपको अनुभव नभएका खेलाडीमध्ये हुनुहुन्छ । सिनियर खेलाडी आइपिएलमा व्यस्त रहेकाले न्युजिल्याण्डले ‘ए’ टोली बनाएर पाकिस्तान भ्रमण गरेको थियो । माइकल ब्रेसवेलको कप्तानीमा टोलीले पाकिस्तानसँगको पाँच खेलको शृंखला २-२ को बराबरीमा रोकेको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो । यस्तो अवस्थामा अनुभवी खेलाडीको पुनरागमनसँगै यो टोली निकै बलियो देखिन्छ ।
न्युजिल्याण्डको विश्वकप टिम : केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापिम्यान, डेभोन कन्बे, लोकी फर्गुसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी निशाम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउथी । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements