काठमाडौं । टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । नेपालसँग खेल्न पहिलोपटक वेष्ट इण्डिज टोली नेपाल आएको हो । घरेलु टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको हो । वेष्ट इण्डिज टिमलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दास दुई कर्मचारीसहित विमानस्थल पुग्नुभएको थियो । दासले खेलाडीलाई खादा लगाएर स्वागत गर्नुभयो ।
वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल त्रिवि क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ मा तेस्रो, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ ।
वेष्ट इण्डिज ‘ए’ ले सिरिजका लागि अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ । टोलीमा तीनजनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ । नेपाल टुरमा आएको वेष्ट इण्डिज ‘ए’ टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलिने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यु फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहनुभएको छ ।
वेष्ट इण्डिज ‘ए’ टोलीका दुई खेलाडीले यसअघि २०२२ मा भएको टी-२० विश्वकप पनि खेलेका थिए । विकेटकिपर जोनसन चाल्र्स र बलर ओबेद म्याककोयले २०२२ को टी-२० विश्वकप खेल्नुभएको थियो ।
विश्वकप टिम थप परिष्कृत हुनेछ : प्रशिक्षक सामी
वेष्ट इण्डिज क्रिकेट टिमका प्रशिक्षक डरेन सामीले ‘ए’ टिमको नेपाल भ्रमणले आफ्नो विश्वकप टिम थप परिष्कृत हुने बताउनुभएको छ । वेष्ट इण्डिज ‘ए’ टिमको नेपाल भ्रमणको विषयमा आइसिसीसँग कुरा गर्दै प्रशिक्षक सामीले नेपालको ऐतिहासिक भ्रमणले विश्वकप टिम बलियो बनाउन सहयोग पुग्ने टिप्पणी गर्नुभयो । ‘नेपाल भ्रमणले हामीलाई हाम्रो टी-२० विश्वकप टोलीलाई परिष्कृत गर्ने, भूमिका स्पष्ट गर्ने मौका दिनेछ । साथै हाम्रा नौ खेलाडी अहिले आइपिएल खेलिरहेकाले हाम्रो टी-२० टिमको गहिराइ र यसको सीमा नाप्न सहयोग पुग्नेछ,’ उहाँले भन्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts