ओमान । एसिसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह ‘बी’ को खेलमा आयोजक ओमानले कम्बोडियालाई पराजित गरेको छ । अल अमेरत मैदानमा आइतबार भएको खेलमा अलराउण्डर अकिब इल्यासले हृयाट्रिक विकेट लिएपछि ओमानले कम्बोडियालाई ६३ रनले पराजित गरेको हो ।
वर्षाले खेलको सुरुवात प्रभावित भएपछि ११ ओभरमा घटाइएको थियो । कम्बोडियाले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिने निर्णय सफल भने भएन । जितका लागि १५५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कम्बोडियाले ११ ओभरमा ७ विकेट गुमाएर ९१ रनमात्र जोड्न सक्यो ।
ओमानका अकिब इल्यासले हृयाट्रिक विकेट लिँदै कम्बोडियाको मध्यक्रमलाई ध्वस्त पार्नुभएको थियो । अकिबले छैटौँ ओभरको चौथो बलमा विमुक्ति विराजलाई क्याच गराएपछि पाचौँ बलमा एटिएन ब्युक्स र अन्तिम बलमा शर्वन गोदारालाई बोल्ड गर्नुभएको थियो ।
कम्बोडियाका कप्तान लुक्मन बटले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । ओपनरद्वय उदय हथिन्जरले १८ तथा राम शरणले १२ रन बनाउनुभयो । ओमानका अकिबले ४, मेहरान खानले २ तथा जिशान मकसुदले १ विकेट हात पार्नुभयो । त्यसअघि ओमानले ११ ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । ओपनर नसीम खुसीले ६९ रनको विस्फोटक इनिङ खेल्नुभयो । रफी उल्लाहले २३ रन जोड्नुभयो । कम्बोडियाका लागि शर्वन गोदारा, उत्कर्ष जेन र विमुक्ति विराजले २-२ विकेट हात पार्नुभयो । एजेन्सी ।






