भोजपुर । प्रत्येक वर्ष पहाडी जिल्ला भोजपुर सदरमुकाममा सञ्चालन हुँदै आएको सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा ‘ए’ डिभिजनका दुई क्लबले पनि प्रतिस्पर्धा गर्ने भएका छन् ।
आगामी वैशाख ९ गतेबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि सहभागी भएर प्रतिस्पर्धा गर्ने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो । प्रतियोगितामा यी दुई क्लबसहित आठ टिमले सहभागिता जनाउनेछन् ।
अध्यक्ष सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका त्रिभुवन आर्मी क्लब काठमाडौं, चर्च व्बाइज युनाइटेड काठमाडौं, राजारानी फुटबल क्लब धनकुटा, खोटाङ भगवती स्पोर्ट्स क्लब, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, आयोजक भोजपुर जिल्ला फुटबल संघ र नेपाल बाहिरको जर्जियन फुटबल क्लब भारतको सहभागिता हुनेछ ।
जिल्लाकै प्रतिष्ठित सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको हो । विगतमा सदरमुकामको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता सञ्चालन हुदै आएको भए पनि यस वर्षदेखिको खेल भोजपुर नगरपालिका-७, कोदारमा रहेको रंगशालामा हुनेछ ।
यसअघि ‘सेभेन ए साइड’का रूपमा प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । ‘तीनवटा ‘ए’ डिभिजनका क्लब सहभागी गराउने योजना रहेको भए पनि ‘ए’ डिभिजनतर्फ दुई क्लब सहभागी हुने पक्का भएको आयोजक फुटबल संघका अध्यक्ष सुवालले बताउनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ भने अन्य लागत खर्च संकलन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद पाँच लाख र उपविजेताले तीन लाख पाउनेछन् भने व्यक्तिगत विधातर्फ पुरस्कारको व्यवस्था गरिएकोे छ । चैत २२ गतेबाट सञ्चालन हुने भनिएको प्रतियोगिता प्राविधिक कारण भन्दै मिति सारिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts