काठमाडौं । आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपका लागि एभरेष्ट भलिबल क्लबले तीन भारतीय खेलाडीहरूलाई अनुबन्ध गरेको छ । शनिबारदेखि सुरु हुने प्रतियोगिताको महिलातर्फ एभरेष्टले तीन भारतीयसहित नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि अनुबन्ध गरेको छ ।
एभरेष्टले भारतबाट मिडल ब्लकर सूर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसनलाई अनुबन्ध गरेको हो । तीनै खेलाडी हाल टोलीमा प्रशिक्षण गरिरहेको एभरेष्ट क्लबका प्रशिक्षण भने अर्जुन घिमिरेले बताउनुभयो । यस्तै एभरेष्टको टोलीमा निशा चौधरी, मिना सुनार, अनुषा चौधरी, आरती चौधरी, ऋतु पुन, प्रमिला जिसी र रिचा थापा पनि हुनुहुन्छ । सूर्या नेपालमा गत वर्ष सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपको सर्वोत्कृष्ट खेलाडी चुनिनुभएको थियो ।
एभरेष्ट प्रतियोगिताको समूह ‘ए’ मा रहेको छ । यस समूहमा गत संस्करणको विजेता नेपाल पुलिस क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश पनि छन् । एभरेष्टले प्रतियोगिताको पहिलो खेलमा शनिबार बिहान साढे ८ बजे कर्णाली प्रदेशको सामना गर्दैछ । अर्को समूहमा चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड, नेपाल एपीएफ क्लब र मधेस प्रदेश छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता