काठमाडौं । फ्रान्सको पेरिसमा आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म हुने ग्रीष्मकालीन ओलिम्पक तथा अगष्ट २८ मा आयोजना गरिने पारालिम्पिक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका दुई टोली चीन जाने भएका छन् । छनोट प्रतियोगिता आगामी चैत २ देखि ४ गतेसम्म चीनको ताइयाङमा हुँदैछ ।
पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला समूहमा ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रत्येक तौल समूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् । उक्त छनोट खेल भने चैत २ र ३ गते हुनेछ । त्यसका लागि टोली भोलि चीन प्रस्थान गर्दैछ ।
त्यसैगरी, पेरिस पारालिम्पिक छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेसा गोवद्र्धनले नेपालको प्रतिनिधित्व गर्दैछन् । पलेसा चौथो एसियाली पारा खेलकुदकी कास्य पदक विजेता हुन् । उक्त खेल चैत ४ गते हुनेछ । प्रतियोगितामा सहभागी हुने उक्त टोली भने चैत १ गते चीन प्रस्थान गर्नेछ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकमा छनोट हुने प्रावधान छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।
“छनोट प्रतियोगिता तपाईंहरुका लागि चुनौतीसँगै इतिहास दोहो-याउने अवसर पनि हो । नेपाली ओलम्पिकको इतिहासमा अहिलेसम्म तेक्वान्दोबाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेलेको इतिहास छैन । सङ्गीना वैद्य र दीपक विष्टले त्यो उपलब्धि हासिल गर्नुभएको छ । उहाँहरुपछि तपाईंहरुलाई इतिहास रच्ने मौका छ,” सदस्य–सचिव घिसिङले भन्नुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts