काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ । नेपालले लगातार दोस्रो जित हात पार्दै फाइनलमा स्थान बनाएको हो । कीर्तिपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौँ खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । उत्कृष्ट बलिङको मद्दतमा सुरुमा नेदरल्याण्ड्सलाई १२० रनमा रोकेको नेपालले १५.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहँदै नेपालले फाइनल यात्रा सुनिश्चित गरेको हो । अंकतालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान रहेको छ । हाल अंकतालिकामा नेपाल र नेदरल्याण्ड्सको चार-चार तथा नामिबियाको दुई अंक छ । अब आइतबार लिगको अन्तिम खेलमा नेदरल्याण्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुलशन झाले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै नेपालको जित पक्का गर्नुभयो । गुलशनले ३६ बलमा ३८ रन बनाउनुभयो । १४ औँ ओभरमा आर्यन दत्तबाट बोल्ड हुनुअघि उहाँले दुई चौका एक छक्का प्रहार गर्नुभएको थियो ।
रोहितले ३३ बलमा ४६ रन जोड्नुभयो । उहाँले तीन चौका र एक छक्का प्रहार प्रहार गर्नुभयो । त्यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवै एकै ओभरमा आउट हुनुभएको थियो । तेस्रो ओभरमा कुशल १२ र आसिफ आठ रनमा पराजित हुनुभएको थियो । दीपेन्द्रसिंह ऐरी चार र कुशल मल्ल दुई रनमा नटआउट रहनुभयो ।
त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्याण्ड्सले १९ दशमलब तीन ओभरमा सबै विकेट गुमाउँदै १२० रनको योगफल बनाएको हो ।
नेदरल्याण्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिनुभयो । यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाउनुभयो ।
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिनुभयो भने करण केसी र कुशल मल्लले समान दुई-दुई विकेट लिनुभयो । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको थियो । यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको थियो ।
शनिबार बिदाको दिन भएकाले कीर्तिपुर स्टेडियममा नेपाली समर्थकहरू ओइरिएका थिए । नेपाली समर्थकहरूको विश्व क्रिकेट जगत्मा पछिल्लो समय धेरै चर्चा हुने गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा