बालाचतुर्दशी मेलामा चार लाख पर्यटक भित्र्याउने तयारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

झापा । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।

विसं २०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । मङ्सिर १७ देखि २५ गते ९बालाचतुर्दशीका दिनसम्म० नौ दिवसीय श्रीमद् देवीभागवत महापुराण गरिने जनाउँदै मङ्सिर १९ देखि २४ गतेसम्म दैनिक योग साधना शिविरको आयोजना गरी सो पर्यटक भित्र्याउने तयारी गरिएको बताउनुभयो ।

यस वर्षको मेलामा नेपाल, भारत र भूटानका चार लाख धार्मिक तीर्थयात्री आउने अपेक्षा गरिएको गट्टानीको भनाइ थियो । अर्जुनधारा जलेश्वर धाम झापाको अर्जुनधारा नगरपालिका-७ शनिश्चरेमा रहेको छ ।

सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार ढोका र तामाको छानो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरको तस्वीरलाई सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।

“महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेकाबेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रुपमा यस धामलाई मानिएको छ”, अध्यक्ष गट्टानीले भन्नुभयो, “विराट राजाको गाई हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरु पुनःफर्काएर ल्याएका भन्ने भनाइ प्रख्यात छ ।” उहाँका अनुसार अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।

ADVERTISEMENT

बालाचतुर्दशीका अवसरमा आयोजना हुने अनुष्ठानमा भारतको प्रसिद्ध पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण प्रमुख अतिथिका रुपमा आउनुहुने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आचार्य बालकृष्णसहित पतञ्जली योगपीठका योग प्रशिक्षकको टोली धाममा आएर छ दिनसम्म योग साधना गराउने कार्यक्रम तय भएको छ ।

धाममा हजारौँको सङ्ख्यामा आउने धार्मिक भक्तजनले मुलुकको पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जोशीको भनाइ थियो । उहाँका अनुसार आचार्य बालकृष्णले धाम परिसरमा निर्मित खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । “धामको स्थापना खडेबाबा नामका एक साधुले गरेका कारण उहाँको स्मृतिमा धाम परिसरमा शालिकसहितको एउटा पार्क निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।

धामका मूल अर्चक आचार्य अग्नि सिग्देलले यस वर्षको धार्मिक अनुष्ठान क्रममा गङ्गा आरती, यज्ञ अनुष्ठान, योग साधना र सतबीज छर्नेलगायत प्रमुख आकर्षण रहने बताउनुभयो । उहाँका अनुसार यहाँ सञ्चालित गुरुकूल र अन्नदाता अक्षयकोष वृद्धिका लागि धाम समितिले दातासँग स्वेच्छिक सहयोगको आह्वान गरेको छ ।

धामका प्रचार संयोजक रमेश खत्रीका अनुसार अन्नदाता र गुरुकूल अक्षयकोष सञ्चालनका लागि रू एक करोडका दरले दुई अलग-अलग अक्षयकोष बनाउने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *