झापा । झापाको १३१ मध्ये रिक्त कनकाई-६ को वडाध्यक्ष पदको लागि ताेकिएको समय बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ । निर्बाध रुपमा मतदान भइरहेको मुख्यनिर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलले बताउनुभयो ।
मतदानस्थल तोकिएको कनकाई-६ को चम्पापुर माध्यमिक विद्यालयको दुईवटा मतदान केन्द्रमा मतदान शुरु भएको हो । दुई हजार ५८ जना मतदाता रहेको कनकाई ६ मा बिहान ९ १५ बजेसम्ममा १८० मत खसिसकेको छ । मतदान केन्द्र नजिकै घर हुनुभएको ८६ वर्षीय तारानाथ पोखरेलको मृत्यु भएकोले मतदाता त्यसतर्फ लागेकोले केही कम मतदान भएको हो ।
कनकाई ६ को वडाध्यक्षमा नौ जना उम्मेदवार मैदानमा छन् । स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली, सत्तारुढ कांग्रेसका रामगोपाल ओली, नेकपा एमालेका तुलराम बस्नेत, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका गणेशबहादुर थापा, जनमत पार्टीका सुकलाल राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण निरौला, नागरिक उन्मुक्ति पार्टीका जमुना राजंवशी, मंगोल नेशनल अर्गनाइजेसनका पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ ।
कनकाई ६ का वडाध्यक्ष दीर्घराज थापाको गत असोजमा मृत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा निर्वाचन भइरहेको हो । आज देशका विभिन्न स्थानीय तहका पदमा नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता