राजविराज । सप्तरी युथ नेपालले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अविलम्ब निर्माण गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ ।
युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको नेतृत्वमा गएको युवाको टोलीले प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका( १० विरौल स्थित निर्माणाधीन रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले आन्दोलन सुरु गरि पहिलो दिनको कार्यक्रम अनुसार ज्ञापन पत्र पठाएको हो ।
युथ नेपालको शनिबार बसेको बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरी आन्दोलनको कार्यक्रम घोषणा गरिएको थियो। त्यसअनुसार आइतबार पहिलो दिन जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
प्रतिष्ठान निर्माणका निम्ति बिभिन्न आर्थिक वर्ष रकम बिनियोजन भएता पनि काम हुन नसकी रकम फ्रिज भएको र हालसम्मको प्रगति हेर्दा डिपिआर समेत भई सकेको अवस्थामा निर्माण कार्यलाई तिव्रता दिनु आवश्यक रहेको ज्ञापनमा उल्लेख छ । मधेशकै बहुप्रतिष्ठित आयोजना लथालिंग अवस्थामा रहनु दुःखद भएको भन्दै प्रतिष्ठान सञ्चालन आए पछि मधेश प्रदेश सहितका ११ जिल्लाका १ करोड ९ लाख जनतालाई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्ने स्वास्थ्य मन्त्रालयकै लक्ष्य रहेको अवगत गराइएको छ ।
प्रतिष्ठान निर्माण कार्यलाई यथाशीघ्र सञ्चालनमा ल्याई नेपाली जनतालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि सहयोग गरिदिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ। काम सुरु नभए उनीहरू निरन्तर आन्दोलनमा रहनेसमेत चेतावनी दिएका छन ।
सोमबार ¥याली प्रदर्शन गर्ने, १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन गर्ने, १३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घन्टा धर्ना दिने र १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दुई घन्टा धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ ।
‘२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदबाट निर्णय भएको बिषय ५ बर्ष बित्दासमेत लथालिंग अवस्थामा पुग्नु विडम्बना हो । सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण हुने सूचना पाएर हामी औधी खुशी भएका थियौं । तर, अहिले चिन्तित भएका छौं’ ज्ञापन पत्रमा भनिएको छ ।
०७५ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माणकार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । यद्यपि, अहिलेसम्म डिपिआर निर्माणबाहेक त्यहाँ केही काम भएको छैन ।
स्थानीहरुले पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका ५ बुँदे मागअघि सार्दै असोज २६ गते शुक्रवार देखि सुरु गरेको रिले अनशन जारी छ ।
गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।
पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच