काठमाडौं । जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई स्वदेश फर्किनुभएको छ । जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिनासम्म भएको सेमिनारमा सहभागी भई देवकी स्वदेश फर्किनुभएको हो । सेमिनार एनपिओ जुडोसले आयोजना गरेको हो । सेमिनारका केही कक्ष जापान कोदोकानमा पनि भएको थियो ।
जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानका विभिन्न डोजो, जुनियर हाईस्कुल, सिनियर हाईस्कुल, कलेज, विश्वविद्यालयहरूमा प्रशिक्षण गर्ने अवसर पाउनुभएको थियो । देवकीलाई एनपिओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिनुभएको थियो । गैरनाफामूलक संस्था एनपिओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेईं इनोइ हुनुहुन्छ ।
यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी भएको नेपाल जुडो संघका सदस्यसमेत रहनुभएका बन्दी सहायता नियोग (पाम) का जुडो प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाउनुभएको छ । देवकी पाममै सात वर्षको उमेरदेखि हुर्किनुभएको हो ।
त्यहीँबाट देवकीले सन् २००९ देखि जुडो खेल्न थाल्नुभएको थियो । देवकी हाल पाममा सहायक प्रशिक्षक हुनुहुन्छ । घरेलु प्रतियोगितामा देवकी एकपटक मात्र मनिता श्रेष्ठ प्रधानसँग फाइनलमा पराजित हुनुभएको छ । मनिता पनि पामकै उत्पादन हुनुहुन्छ ।
देवकीले हालै चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो । देवकीका दाइ इन्द्र र निशा पनि आ-आफ्नो तौल समूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुनुहुन्छ । देवकीले सेमिनारबाट आफूले महत्वपूर्ण ज्ञान हासिल गरेको बताउँदै आफूले सिकेको सीप अरूलाई पनि सिकाएर व्यवहारमा लागू गर्ने बताउनुभयो । देवकीले सेमिनारमा सहभागिताको अवसर प्रदान गरेकोमा नेपाल जुडो संघलाई धन्यवाद दिँदै एनपिओ जुडोसको पनि प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा