गुल्मी । गुल्मीमा चौथो पुलचोक कप सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा पुलचोक स्पोर्टस क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो ।
आज (बुधबार) देखि सुरु भएको प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले महिला खेलाडी उत्पादनका लागि क्लबले महत्वपूर्ण भूमिका खेलेको भन्दै पुलचोक स्पोर्टस क्लबको प्रसंशा गर्नुभयो ।
खेलकुदको विकासका लागि नगरपालिका सधै तत्पर रहेको बताउँदै प्रतियोगितालाई मर्यादित ढङ्गबाट सम्पन्न गर्न आग्रह गर्नुभयो । खेलकुदले अनुशासनमा बस्न सिकाउने र स्वस्थ राख्ने भएकाले मानव जीवनका लागि खेलको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रतियोगिताको माध्यमबाट भोलिको दिनमा गौरव गर्न सक्ने खेलाडि उत्पादन हुने समेत उहाँले बताउनुभयो ।
आजदेखि सुरुभएको प्रतियोगिता यही असोज १३ गतेसम्म तम्घासमा चल्नेछ । क्लबको पाँचौ वार्षिकोत्सबको अवसरमा चौथो पुलचोक कप–२०८० आयोजना गरिएको महासचिव प्रकाश मरासिनीले जानकारी दिनुभयो । प्रतियोगितामा रेसुङ्गा माध्यमिक विद्यालय, अर्जुन आवासीय माध्यमिक विद्यालय, ब्रिलियण्ट युनाइटेड एकेडेमी, ब्राइटर इङ्गलिस बोर्डिङ्ग स्कुल, महेन्द्र नमुना माध्यमिक विद्यालय, पालुखा माध्यमिक विद्यायलय, भगवती माध्यमिक विद्यालय, सिद्धबाबा माध्यमिक विद्यालय, आदर्श विद्या आश्रम, रिडर्स पब्लिक हाइ स्कुल र गण्डकी इङ्गलिश बोर्डिङ्ग स्कुल गरी ११ समूह सहभागी छन् ।
पुलचोक कप– २०८० विजेताले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेताले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts