खेलाडीलाई खेलमैदानकै पिरलो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । बागलुङका हरेक गाउँमा खेलाडी छन् । भौगोलिक विकटता र पर्याप्त खेलमैदान नहुँदा खेल्ने अवसर भने राम्रो छैन । बागलुङका कुना काच्पामा खेलेका धेरै खलाडी अहिले राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएका छन् । भलिबलका लागि अझ बढी चर्चित बागलुङ जिल्ला । बालबालिकादेखि वृद्धवृद्धासम्मले भलिबल खेललाई निकै चसोका साथ हेर्ने गर्दछन् । हिउँदको समयमा खेतबारीकै कुनामा बार लगाएर खेल्ने गरे पनि बर्खायाम भने खेल खेल्नबाट वञ्चित हुँदै आएका छन् । तेक्वान्डो, कराते, फुटबललगायत खेलकुद जिल्लामा खेलिने गर्छ ।

असारदेखि बागलुङ ग्रामीण क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएका छन् । कारण हो खेल मैदान अभाव । दैनिक खेल्ने खेलाडीहरू यो समय घर तथा बारीको काम धन्दामा व्यस्त हुन्छन् । सधैं खेलेर क्षमता अभिवृद्धि गर्नुपर्ने खेलाडी खेल्ने स्थानमो अभावका कारण पडाडि पर्नु परेको छ । बर्खा सकिन थालेपछि अब चाडपर्वको याम पनि सुरु हुन थालेका छन् । अब जिल्लाका धेरै ठाउँमा धमाधम खेलकुद प्रतियोगिता हुने गर्छन् । बागलुङका अधिकांश ठाउँमा उपयुक्त उपयुक्त खेल मैदान छैन । केही ठाउँमा भए पनि निकै साँघुरा र अप्ठ्यारा छन् । त्यस्ता खेल मैदानले दुर्घटना जोखिम बढाएका छन् ।

बालबालिका र युवाहरूको खेलाडी बन्ने चाहना हुँदाहुँदै पनि उपयुक्त खेल मैदान नहुँदा पछाडि पर्नुपरेको धेरैको गुनासो छ । हाल जिल्लामा दर्जनौं स्थानमा तेक्वान्दो तथा कराते खेल खेलिँदै आएको छ । अधिकांश ठाउँका खेल प्रशिक्षकहरूले विद्यालयका प्रांगणमा प्रशिक्षण दिँदै आएका छन् । केही स्थानमा मात्रै कभर्ड हल तथा खेल मैदानमा खेल प्रशिक्षण हुने गर्छ । कराते र तेक्वान्दोबाहेक अन्य खेलको प्रशिक्षकसमेत हुँदैनन् । निसीखोला गाउँपालिका–४ मा तेक्वान्दो प्रशिक्षण दिँदै आउनु भएका सुरजन बुढा मगरले खेल्ने ठाउँ अभावका कारण जोखिमपूर्ण मैदानमा खेलाडीलाई प्रशिक्षण दिनुपरेको गुनासो गर्नुभयो ।

उहाँले विद्यालयमा सधैं खेल प्रशिक्षण गर्न समस्या हुने भन्दै त्यहाँ पनि उपयुक्त खेलमैदान नभएको बताउनुभयो । विद्यालयहरूको मेलमैदानमा छरिएका ढुंगा तथा कंक्रिटले खेल्दा खेलाडीलाई चोटपटक लाग्ने र घाइते हुने गरेको उहाँको भनाइ छ । खेलमैदानको अभावमा खेलाडीले खुल्ला रूपमा क्षमता प्रद्धर्शन गर्न नसकक्ने प्रशिक्षक बुढामगर बताउनुहुन्छ ।

बुढामगर भन्नुहुन्छ, ‘गाउँमा साँघुरो ठाउँ हुन्छ, सिकाउनका लागि पर्याप्त ठाउँ चाहिन्छ, तर पनि खेलाडीको चाहना धेरै भएको हुँदा साँघुरै ठाउँमा पनि खेलाउनुपर्ने बाध्यता छ, तेक्वान्दो खेल खेलाडीसँगै खेलेर सिकाउनुपर्ने हुन्छ, यो खेलप्रति पछिल्लो समय धेरैको आकर्षण बढेको छ, भूगोल पनि यस्तै छ, खेलमैदानका लागि ठाउँ त छ तर, मैदान बनाउन सक्ने अवस्था हाम्रो हुँदैन, सरकारले गराई दिए, धेरै खेलाडी उत्पादन हुने थिए ।’

ADVERTISEMENT

खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनु परेको छ । त कति विदेशिनु परेको छ । गाउँका खेत तथा साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौं खेलाडी अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेल खेलिरहेका छन् । उनीहरूले आफ्नो पहिचानलाई थप उचो बनाएका छन् भने राष्ट्रकै शान बनेका छन् । क्रिकेटर करण केसी, भलिबल खेलाडी रवि केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गाबहादुर सुनार सोफया पुनलगायत दर्जनौं खेलाडीले राष्ट्रिय स्तरमा चर्चित छन् ।

अहिले पनि उनीहरू कै पछि-पछि सयौं बालबालिका तथा युवाहरू भलिबल र फुटबल खेल्दै आएका छन् । खेल मैदान अभावमा गुज्रिएका सयौं खेलाडी अहिले पनि माथिल्लो स्तरको खेल कसरी खेल्न सकिन्छ भन्नेमा अन्यौल छन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा समेत एउटा व्यवस्थित खेलमैदान छैन । एउटा भएको बाङ्गेचौर खेलमैदान पनि अव्यवस्थित छ । त्यसलाई रंगशालाका रूपमा व्यवस्थित गर्नका लागि योजना परे पनि अहिलेसम्म काम भएको छैन । बागलुङ जिल्ला भलिबल खेलका लागि प्रख्यात भए पनि गतिलो खेल मैदान नहुँदा धेरै बालबालिका तथा युवाहरू खेल्नबाट वञ्चित भएको भलिबल खेलाडी रेशम थापा बताउनुहुन्छ ।

‘बागलुङबाट धेरै दाइ दिदीहरूले अहिले राष्ट्रियकै नेतृत्व गरेर खेल खेल्दै आउनु भएको छ, भलिबलका लागि उर्वर बागलुङमा अहिलेसम्म गतिलो खेलमैदान छैन, भलिबलमात्रै होइन, अन्य खेलका लागि पनि खेल्ने ठाउँ छैन,’ उहाँले भन्नुभयो, ‘सरकारले खेल क्षेत्रलाई उपेक्षामा पारेको छ, ठाउँ–ठाउँमा खेलमैदान हुन्थ्यो, भने धेरै भाइबहिनाले आफ्नो भविष्य खेलेरै बनाउन सक्थे, न खेलमैदान छ, न खेल प्रशिक्षक छन् कसरी राम्रो खेलाडी उत्पादन हुन्छन् ?’

जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगेश भण्डारीले जिल्लामा हजारौं युवा तथा बालबालिकाको भलिबलतर्फ आकर्षण रहेको बताउनुभयो । ठूलो जमातको खेलप्रति आकर्षण हुँदा खेलमैदान र खेलकुद सामग्रीको व्यवस्थापन कसैले गर्न नसकेको उहाँको गुनासो छ । अहिलेको अवस्थामा जिल्लाका हरेक वडामा खेलमैदान, कर्भड हल हुनु भए पनि सरकारले त्यसको व्यवस्थापन गर्न नसकेको गुनासो गर्नुभयो । ‘हामीहरूले सरोकारवाला निकायमा धेरै पटक, खेलमैदान, खेलकुद सामग्री, प्रशिक्षकलगायत विषयको माग गर्दै आएका छौं, तर अहिलेसम्म सुनुवाई भएको छैन, धेरै भाइबहिनीहरू खेल क्षेत्रमा लाग्न चाहनुहुन्छ तर अवस्था निकै नाजुक छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘राज्यले तल्लो स्तरदेखिनै खेल क्षेत्रको जग बसाल्नुपर्छ, ठूलो ठूलो प्रतियोगितामा जितको अपेक्षा गरेमात्रै हुँदैन, हाम्रो ‘बेस’नै राम्रो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *