दमौली । पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेल मैदानको खोजी गर्न थालिएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट संघले नेतृत्व लिएको छ । व्यास नगरपालिका-५ पाटनस्थित खेल मैदानलाई क्रिकेट मैदानका रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत निरीक्षण गरिएको छ ।
खेलप्रति आकर्षण बढ्ने तर मैदान नहुँदा समस्या भएकाले क्रिकेट खेल मैदानको पूर्वाधार निर्माण गर्न लागिएको तनहुँ क्रिकेट संघका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लामा क्रिकेटका गतिविधि विस्तारै बढ्दै छन्, यसतर्फ खेलाडी आकर्षित भइरहेका छन् । तर, मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ ।’ राम्रो खेल मैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।
नेपाल क्रिकेट संघ केन्द्रीय समिति र गण्डकी प्रादेशिक क्रिकेट संघले जिल्लामा मैदानको पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । खेल मैदान नहुँदा खेलाडीले खेल प्रस्फुटन गर्ने अवसर नपाएको दमौलीका कविराज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशले पछिल्लो समय क्रिकेटमा ठूलो प्रगति गरेको छ, त्यसकै कारण पनि यहाँ खेलप्रति आकर्षण बढिरहेको छ ।’
तनहुँका क्रिकेट खेलाडी चन्द्रकान्त पौडेलले जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान नभएको र सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको गुनासो गर्नुभयो ।
दमौली पेलिकन्स क्लबले बेला-बेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ । खेलमैदानकै अभावमा क्लबले व्यास-५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ । ‘क्रिकेटमा राम्रो सम्भावना छ तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ,’ उहाँले भन्नुभयो । तनहुँ क्रिकेट संघका पूर्वअध्यक्ष ताराराम श्रेष्ठले क्रिकेटतर्फ आकर्षण बढे पनि पूर्वाधार अभाव रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच