काठमाडौं । स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्नुभएकी नन्दा बस्याललाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । दक्षिण कोरियामा भएको उक्त प्रतियोगितामा नन्दाले इरानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्नुभएको थियो ।
नन्दालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेपका पूर्वसदस्य सुवास श्रेष्ठ, खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्मा, कलाकार, परिवारजन, शुभचिन्तक, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतले एक कार्यक्रमबीच स्वागत गरे । सो अवसरमा राखेप कार्यकारी समितिकी सदस्यसमेत रहनुभएकी स्वर्ण विजेता नन्दाले देशलाई पदक दिलाउन पाएकोमा गर्वको अनुभूति भएको बताउनुभयो ।






