देउडा गीतलाई देश-विदेशमा चिनाउने अभियानमा छु : शोभा थापा, गायिका

गीता अधिकारी
गीता अधिकारी
Read Time = 11 mins

गायन क्षेत्रमा विसं २०६१ सालदेखि औपचारिक रूपमा होमिनुभएकी शोभाकुमारी थापा मगर निरन्तर यस क्षेत्रमा क्रियाशील हुनुहुन्छ । एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी थापा खासगरी देउडा गायिकाका रूपमा स्थापित हुुनुहुन्छ । बुबाको नोकरीको सिलसिलामा भारतमा बसोबास गर्नुहुँदा भारतमै जन्मिनुभएकी शोभा बाजुरा स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सांगीतिक प्रस्तुति श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । बुबा द्वारिलाल सिंह र माता मीनादेवी सिंहको कोखबाट जन्मिनुभएकी शोभाले सरस्वती क्याम्पस ठमेलबाट माष्टर डिग्री गर्नुभएको छ । सबैखालका गीत गाए पनि खासगरी देउडा गायिकामा आफ्नो बर्चस्व कायम गर्नुभएकी उहाँका कम्पनी माला, कस्तुरी बासै छ, बैनीको भिनाजु, हरिया टन्की मेला, हल्ला चल्यो गाउँमा, माइती जान मन छ, दशैँ तिहार, चौकीको बडो, डोरीका छोरेट्ट, प्रदेशीका दुःख, कैल्यै तु छाउ हुदी, जोई प्यारी वैंशमा, भुक्तोलीका राम, बड्डामा जवानी चढ्यो, ओई चम्पा’ जस्ता गीत औधी मन पराइएका छन् । दिगो रूपमा देउडा गीतलाई देश-विदेशमा चिनाउने प्रतिबद्धतासहित अभियानमा रहेको बताउनुहुने गायिका शोभाकुमारी थापा मगरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानी :-

आजभोलि के गर्दै हुनुुहुन्छ ?
रेकर्डिङका काम भइरहेका छन् । स्टुडियो व्यवस्थापन (विशेष डिजिटल)को काम भइरहेको छ । विभिन्न संघसंस्थामा आबद्ध छु । ती संघसंस्थाका विविध कार्यक्रममा सरिक भइरहेकी हुन्छु ।

यो क्षेत्रमा के कुराले तान्यो ?
देउडा गीत आफैंमा नेपाली भाषाको जननी हो । मलाई गीत संगीतमा औधी रुचि थियो, रहर थियो सानैदेखि । मेरो आफ्नो अंकल पनि कलकारितामा भएको भएर थुप्रै कलाकारहरूले रेडियो नेपालमा इन्टरभ्यु सुनेर, गीत सुनेर रहर जाग्थ्यो ।

यहाँको पहिलो सांगीतिक कोसेली कुन सार्वजनिक भएको थियो, कसको प्रेरणाले यो क्षेत्रमा आउनुभयो ?
विसं २०६१ सालमा ध्वज महराको ‘हरिया छन्की मेला’ भन्ने देउडा गीतबाट मेरो सांगीतिक यात्रा सुरु भएको हो । मलाई यहाँसम्म ल्याउनुमा हर्क खडायत दाजु, ध्वज महरा दाजु र सुदूरपश्चिमका चर्चित लय/शब्द संकलक राजेन्द्र शाह बिपीज्यूको महत्वपूर्ण योगदान रहिआएको छ । उहाँहरूप्रति यसै सञ्चारमाध्यमबाट धेरै-धेरै आभार पनि व्यक्त गर्न चाहन्छु ।

आजसम्म कति जति गीतमा आफ्नो स्वर दिनुभएको छ, केहीको नाम लिनुपर्दा ?
आजसम्म मैले एक हजारभन्दा धेरै गीत गाइसकेकी छु । केहीको नाम लिनुपर्दा ‘कम्पनी माला, कस्तुरी बासै छ, बैनीको भिनाजु, हरिया टन्की मेला, हल्ला चल्यो गाउँमा, माइती जान मन छ, दशैँ तिहार, चौकीको बडो, डोरीका छोरेट्ट, प्रदेशीका दुःख, कैल्यै तु छाउ हुदी, जोई प्यारी वैंशमा, भुक्तोलीका राम, बड्डामा जवानी चढ्यो, ओई चम्पा’ लगायत रहेका छन् ।

यहाँ गायनमा विशेषतः देउडा गीत गाउनुहुन्छ होइन ?
हो, तपाईंले भनेजस्तै गायनमा मुख्यगरी देउडा गीत गाउँछु म, लोकदोहोरी गीत पनि थुप्रै गाएकी छु । अन्य गीत पनि गाएकी छु ।

कस्तो छ देउडा गीतको बजार ? प्रतिस्पर्धा कस्तो छ ?
देउडा गीतको बजार अहिले त एकदमै राम्रो छ । पहिला देउडा गायकगायिकालाई मेला महोत्सवमा तथा अन्य कार्यक्रममा बोलाउँदैनथे भने अहिले विविध मेला महोत्सव, बिहे पार्टी, देश-प्रदेश, कुना-कन्दरा देउडामय छ । मलाई के लाग्छ भने देउडा भाकाका गीतलाई राज्यले पनि सम्बोधन गर्न जरुरी छ । सपोर्ट गर्नुपर्छ । साथै हामी स्वयं देउडा कलाकारहरूले पनि प्राथमिकता दिनुपर्छ । हामीले नै यसको संरक्षण, संवर्धन र समृद्धिका लागि पहल गर्नुपर्छ । हामीले नै यसलाई प्राथमिकता दिएनौँ भन्ने अन्य ठाउँकाले दिने कुरै हुँदैन । होइन र ? त्यसैले हामीले नै देउडालाई बढी फोकस गर्नु जरुरी छ ।

ADVERTISEMENT

अन्य गीत र देउडा गीतमा के फरक छ ?
मलाई के लाग्छ भने अन्य गीत छोटो हुन्छ । छोटो समयमै सिंगल गाइन्छ । देउडामा ग्रुप चाहिन्छ । गीत पनि लामो हुन्छ । गाउन पनि गाह्रै हुन्छ अरूभन्दा ।

गायन क्षेत्रमा लागेर के पाउनुभयो ?
गायन क्षेत्रमा लागेर श्रोता/दर्शकको अपार माया पाएकी छु । मान-प्रतिष्ठा, इज्जत पाएको जस्तो लाग्छ ।

यति धेरै गीत गाउनुभएको छ, फर्केर हेर्दा कस्तो अनुभूति गर्नुहुन्छ ?
यति धेरै गीत गाउँछु । हिट भएँ कि भइनँ भन्ने चिन्ता लागेन । कर्म गरिराछु, निरन्तर गरिरहनेछु । म दुई दिनका लागि भाइरल हुन चाहन्नँ । दिगो रूपमा, दरिलो रूपमा देउडालाई देश-विदेशमा चिनाउन प्रतिबद्ध छु । फर्केर हेर्दा एउटा ठूलै फड्को मारे जस्तो लाग्छ । अझै धेरै जंघार तर्नु छ ।

शोभा थापा को हो, आफैंले आफैंलाई कसरी चिनाउनुहुन्छ ?
शोभा थापा देउडा गीत संरक्षण, देउडालाई बचाउनका लागि जन्मेकी एक पात्र हो भन्ने लाग्छ । सक्षम नेपाली नागरिक हो । नेपाली गीत संगीतको श्रीवृद्धिका लागि अहोरात्र खटिने गीत संगीतकी एउटा सिपाही हो ।

यहाँले यो क्षेत्रमा लागेर थुप्रै मान-सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्न सफल हुनुुभएको छ, विभिन्न संघसंस्थामा रहेर कुशल कार्यसम्पादन पनि गरिरहनुभएको छ, कसरी गर्नुहुन्छ समयको व्यवस्थापन ?
यहाँले भनेजस्तै मलाई केही मान-सम्मान, पुरस्कार र अवार्डहरू प्राप्त भएका छन् । निरन्तर कर्म गर्दै जाँदा यी प्राप्त भएका हुन् भन्ने लाग्छ । यस्ता मान-सम्मान, पुरस्कार र अवार्डले अझ थप जिम्मेवारी थपिएको महसुस हुँदोरहेछ । अझ उत्कृष्ट प्रस्तुतिका लागि एक खालको दबाब पनि हुने गरेको महसुस गरेकी छु मैले । केही संघसंस्थामा रहेर आफ्नो सामाजिक जिम्मेवारी वहन पनि गरिरहेकी छु । सामाजिक कार्यमा आफूलाई संलग्न गराउन पाउँदा छुट्टै खालको आनन्दको अनुभूति मिल्ने गर्छ । एउटा सुखानुभूति हुन्छ । म सांस्कृतिक समाज नेपालकी सदस्य, राष्ट्रिय देउडा मञ्चकी उपाध्यक्ष, राष्ट्रिय संगीतकर्मी संघकी केन्द्रीय सदस्य, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानकी आजीवन सदस्य रहेर आफूले सकेको, जानेको कार्यसम्पादन गरिरहेकी छु । जहाँसम्म समय व्यवस्थापनको कुरा छ त्यो इच्छा, चाहना भयो भने मिल्छ भन्ने लाग्छ । सबैभन्दा ठूलो कुरा त मानिसको इच्छा, चाहना र त्यो कार्यलाई भत्ते गर्न आफूमा दृढसंकल्प हुनुप¥यो, होइन र ?

यो क्षेत्रमा लागेर के पाएँ, के गुमाएँ जस्तो लाग्छ ?
यो क्षेत्रमा लागेर धेरै कुरा पाएकी छु । सबैको साथ सहयोग, माया ममता पाएकी छु । मेरा सिर्जनालाई यहाँहरूले धेरै मन पराइदिनुभएको छ । माया गरिदिनुभएको छ । धेरै नै पाएकी छु । गुमाएकी केही छैन । केही गुमाएकी भए पनि धेरै प्राप्तिले त्यसलाई न्यून गरिदिन्छ ।

तपाईंका गुरु को-को हुनुहुन्छ ?
आमाबुबा, राजेन्द्र शाही, नरेन्द्रराज रेग्मी, हर्क खडायत, डिक्रादेवी, ध्वज महरा, मेरो बुढा विजय थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?