काठमाडौं । एथलेटिक्स परिवार नेपालको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । परिवारले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा महासचिव मञ्जु श्रेष्ठले संस्थाको वार्षिक कार्यक्रम र कोषाध्यक्ष सुष्मा पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष राजन खत्रीले संस्थाको आगामी वर्षको कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।
संस्थाले चालु आर्थिक वर्षमा अन्तरनगरपालिका दौडसहित अन्तर्राष्ट्रियस्तरको म्याराथन कार्यक्रम आयोजना गर्ने योजना सार्वजनिक गरेको छ ।
नेपाल एथलेटिक्स संघका पूर्वअध्यक्ष रघु वन्तले एथलेटिक्सको विकासमा परिवारले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा खेल र खेलाडीलाई सहयोग पु¥याउने परिवारको कामलाई निरन्तरता दिन शुभकामना दिनुभयो ।
कीर्तिमानी धावक जीबहादुर केसीले एथलेटिक्सलाई संस्थागत हिसाबले चलाउने सवालमा परिवारबाट नेपाल एथलेटिक्स संघले समेत सिक्नुपर्ने धारणा राख्नुभयो ।
परिवारका अध्यक्ष राजन खत्रीले विशुद्ध एथलेटिक्सको विकासका लागि संस्थाले काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘कोही व्यक्ति र संस्थाविरुद्ध खोलिएको संस्था हैन । विशुद्ध एथलेटिक्सको विकास गर्ने उद्देश्य संस्थाको रहेको छ । सबैले यही रूपमा बुझ्न र लाग्न अनुरोध गर्न चाहन्छु ।’
साधारणसभामा एथलेटिक्स संघका पूर्वमहासचिव तथा पूर्वमुख्य प्रशिक्षक सुशील नरसिंह राणा, पूर्वधावक मोहन नेपाल, पोखरा म्याराथनका अध्यक्ष हरि पराजुली, एनआरएनए स्पोर्ट्स एकेडेमीका कोषाध्यक्ष तथा पूर्वफुटबल खेलाडी राजु सिंहलगायतको उपस्थिति थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts