फिलिपिन्स जाने टोलीको बिदाइ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार फिलिपिन्स जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्बाङ, महासचिव किरण राईलगायतले बिदाइ गर्नुभयो । साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टोली फिलिपिन्स जान लागेको हो । नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले यसअघि नै ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्नुभएको थियो ।

बन्द प्रशिक्षणका लागि घोषित नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, डिफेण्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अञ्जल महर्जन रहनुभएको छ ।

यस्तै, मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बू, आभास लामिछाने, विशाल तामाङ, फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेञ्जन रहनुभएको छ ।

ADVERTISEMENT

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बेंग्लोरमा हुँदैछ । यस्तै, नेपालले साफको तयारीका लागि जेठ ३२ गते मैत्रीपूर्ण खेल खेल्दैछ । साफमा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा साबिक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने निश्चित भएको छ । फिफाको प्रतिबन्धका कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीका रूपमा खेल्नेछन् ।

सार्वजनिक खेल तालिकाअनुसार साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । असार ६ गते हुने नेपाल र कुवेतबीच उक्त खेल हुनेछ । दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग तीन-शून्यले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *