काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चीनको होङझावमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी, सहभागिता र व्यबस्थापनका लागि सचिवालय स्थापना गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको हाताभित्र एसियाली खेलकुदको सचिवालय स्थापना गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार उक्त सचिवालयको उद्घाटन गर्नुभयो । एसियाड आगामी असोज ६ गतेबाट सुरु हुँदैछ । सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति थियो ।
सचिवालयको उद्घाटन गर्दै मन्त्री लिम्बूले एसियन गेम्समा नतिजा निस्कने गरि काम गर्न निर्देशन दिनुभयो । ‘एसियन गमेसको तयारीमा जुटिरहनु भएको छ । राम्रो व्यवस्थापनका लागि जुटिरहनु भएको छ । तयारी प्रभावकारी हो । सबैले आफ्नोबाट राम्रो गर्नुहोस् । स्वार्थभन्दा माथि उठेर काम गर्नुस,’ मन्त्री लिम्बूले भन्नुभयो, ‘यस एसियन गेम्स नतिजाका लागि हो । त्यसका लागि एक भएर अघि बढौं । खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण निर्माण गरौं ।’
सदस्यसचिव घिसिङले एसियन गेम्सको तयारीलाई चुस्त बनाउने सचिवालय स्थापना गरिएको जानकारी गराउनुभयो । उहाँले एसियन गेम्सलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
सदस्य सचिवले साउन १ देखि भदै १ सम्म खेलाडीको क्लोज क्याम्प राख्नेसमेत जानकारी दिनुभयो । उहाँले एसियन गेम्सका लागि ३० करोडको बजेट अर्थमन्त्रालय पुगिसकेको बताउनुभयो । नेपालले एसियन गेम्समा २९ खेलमा सहभागिता जनाउनेछ ।
ओलम्पिक कमिटीमार्फत नेपालले आयोजकलाई २९ खेलको नाम पठाइसकेको छ । राखेपले यसअघि २३ खेललाई एसियन गेम्समा सहभागी गराउने निर्णय गरेको थियो । तर सम्भावना बोकेका र अन्तर्राष्ट्रिय नतिजा र प्रर्दशनका आधारमा ६ खेललाई अन्तिम समयमा थप गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements