काठमाडौं । विनय सिंह र मञ्जु विकले २१औँ राष्ट्रिय पुरुष खुला तथा १४औँ राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला तौल समूहको पुरुषमा विनय तथा महिलामा मञ्जु पहिलो हुनुभएको हो । दुवै नेपाल आर्मीका खेलाडी हुनुहुन्छ ।
नेपाल क्योकुसिन कराँते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विनयले क्योकुसिन कानका सन्तोष विश्वकर्मालाई पराजित गर्नुभयो । क्योकुसिनका रविन्द्र बुढाथोकी तेस्रो तथा रानीपोखरीका होमबहादुर राई चौथो हुनुभयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा मञ्जुले आर्मीकै अनुपा नेपालीलाई हराउनुभयो । आर्मीकी सपना आले मगर तेस्रो तथा रानीपोखरीकी अनिशा तामाङ चौथो स्थानमा रहनुभयो ।
महिला ५० केजीमुनि बुदोकैदोकी उषा रावल पहिलो हुनुभयो । उषाले फाइनलमा क्योकुसिन वज्रकी आशा गिरीको चुनौती पन्छाउनुभयो । केडब्लुडब्लुकी शिवानी आले मगर तेस्रो तथा क्योकुसिन वज्रकी स्वस्तिका थारु चौथो बन्नुभयो ।
विजेतालाई पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, आयोजक संघका संस्थापक अध्यक्ष जगत्प्रसाद गौचन, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।






