पाल्पा । पछिल्लो समय पाल्पामा धमाधम गाईगोरु मर्न थालेका छन् । ‘लम्पी स्किन’ रोगको संक्रमणका कारण यहाँका गाईगोरु मरेका हुन् ।
अहिलेसम्म यहाँका ७० भन्दा बढी गाईगोरु मरिसकेका छन् । अधिकांस उपचार नपाएका र अशक्त, बुढा गाईगोरु मरेका हुुन् । यो रोगबाट ८ सय गाईगोरु संक्रमित भएका छन् । संक्रमित सबै गाईगोरुको उपचार भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका सूचना अधिकारी तथा पशु चिकित्सक डा.नवीन बस्यालले बताउनुुभयो ।
उहाँकाअनुसार निस्दी गाउँपालिकामा ९, बगनासकाली गाउँपालिकामा ४२, माथागढी गाउँपालिकामा १५ र रिब्दीकोट गाउँपालिकाका ४ गाईगोरु मरेका हुन् । ‘किसानले संक्रमण भएको थाहा नपाएको र केही शारीरिक अशक्त, बूढा भएका गाईगोरु मरेका छन्, उपचार पाएका गाईगोरुमा भने त्यस्तो समस्या छैन’ डा.बस्यालले भन्नुुभयो ।
पहिलो पटक माथागढी गाउँपालिका-५ गोठादीका किसानले पालेको गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएर अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ । सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिका बाहेक अन्य ७ पालिकामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएको छ । चैत १० गते गोठादीका गाईगोरुमा गरिएको परीक्षणबाट यो रोग पुष्टि भएको थियो । अहिलेसम्म निस्दी गाउँपालिकाका ६६, बगनासकाली २ सय १५, माथागढी गाउँपालिकामा २ सय १०, रिब्दीकोट गाउँपालिकामा ३२, रैनादेवी छहरा गाउँपालिकामा ४२, तानसेन नगरपालिकामा ३० र तिनाउ गाउँपालिकामा २ सय ५ गाईगोरुमा संक्रमण देखिएको पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ ।
संक्रमण देखिएका सबै गाईगोरुको उपचार गरिएको केन्द्रका डा. बस्यालले बताउनुभयो । केन्द्रले सबै पालिकामा दुई/दुई जना प्राविधिक खटाएर उपचारको काम गरिरहेको छ । स्थानीय सरकारसँग समन्वय गरी उपचारको काम भइरहेको डा.बस्यालले बताउनुुभयो । उपचारपछि धेरै गाईगोरु निको भएका छन् । अहिले माथागढीमा ९० प्रतिशत रोग नियन्त्रणमा आइसकेको छ, भने अन्यमा फैलिदै गएको केन्द्रले जनाएको छ ।
बगनासकालीको पोखराथोक, गोफेक, देउराली, माथागढीको गोठादी, हात्तीलुङ गणबास, दमार, रिब्दीकोटको सत्यवती, बल्ढेङगढी, तिनाउको कचल, सत्यवती, निस्दीको मित्याल, तानसेनको दमकडा, पिपलडाँडालगायतका किसानले पालेका गाईगोरुमा संक्रमण देखिएको पाइन्छ । किसानले पालेका गाईगोरुमा संक्रमण देखिएपछि जिल्लाका स्थानीय सरकारले पनि उपचारमा चासो देखाएका छन् ।
औषधि खरिद गरी उपचारमा लागिएको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुुभयो । उहाँले भन्नुभयो ‘पालिकाका वडा नं १ र २ मा रोगको संक्रमण देखिएको छ, प्राविधिकहरु पठाएर औषधि उपचार गरिरहेका छौं, पशु केन्द्रका प्राविधिकहरु पनि उपचारमा खटिनुभएको छ ।’ तिनाउ गाउँपालिकाले पनि पशु प्राविधिकहरुसँग बसेर संक्रमण नियन्त्रण गर्ने विषयमा छलफल गरिरहेको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुुभयो ।
उहाँले भन्नुुभयो ‘यो रोगको कुनै खोप नभएकाले कसरी उपचार गर्ने भन्ने विषयमा हामी अन्यौलमा छौं, अहिले प्राविधिहरुसँग बसेर छलफल गरिरहेका छौं ।’ रोगको संक्रमण फैलिएको गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निनेजस्ता लक्षण देखिएका छन् ।
यो रोग निको पार्ने कुनै खोप नभपछि पशुको लक्षणअनुसार सामान्य एन्टिबायोटिक दिने काम भएको पशु प्राविधिकहरु बताउँछन् । आफुले पालेका गाइगोरुमा लम्पी स्किन रोग देखापरेपछि किसान चिन्तित भएका छन् । यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ । लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको हो । त्यसपछि चितवनमा देखापरेको यो रोग बैतडीमा पनि देखापरेको थियो ।
यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने जस्ता समस्या देखापर्छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने पशु प्राविधिकहरु बताउँछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts