काठमाडौं । नेपालका उदीयमान एवं विश्व जुनियरमा शीर्ष एकमा रहिसक्नुभएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलंकन नम्बर एक तथा बेलायतका नम्बर ७ खेलाडी दानुका करुणारत्नेसँग पराजित हुनुभएको छ ।
बेलायत भ्रमणका क्रममा रहनुभएका प्रिन्सले खेल्नुभएको मैत्रीपूर्ण खेलमा दानुकसँग १५-२१, १३-२१ ले पराजित हुनुभयो । प्रिन्स हिमालयन ब्याडमिन्टन क्लब, युकेको निमन्त्रणामा युकेको भ्रमणमा जानुभएको हो ।
युकेको भ्रमणमा रहनुभएका दाहाल र करुणारत्नेबीच भएको खेलको व्यवस्थापन हिमालयन ब्याडमिन्टन क्लब युकेका अध्यक्ष गंगा थापा गाहा मगर, सचिव निनम्बु वोधी क्रिजा र सहसचिव एमसी किराँत राईले गर्नुभएको थियो ।






