काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखलाका सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा रहेको बताउनुभएको छ । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले बिहीबारबाट लिगको अन्तिम श्रृंखला खेल्दैछ । श्रृंखलामा भ्रमणकारी टोलीद्वय संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालले सहभागिता जनाउँदै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोटको मौका पाउने भएकाले नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने बताउनुभएको हो ।
पछिल्लो पटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने बताउनु भयो । घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने उहाँको तर्क थियो । शीर्ष तीनमा अटाउनका लागि गरिएको योजना अनुसार श्रृंखलाका खेलहरू भइरहेको र अन्तिम श्रृंखलामा पनि अपेक्षा अनुसारको नतिजा आउने कप्तान रोहितको भनाइ छ । कप्तान रोहितले युएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको तर कीर्तिपुर मैदानको अवस्थामा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किनेसमेत बताउनु भयो ।
यस्तै प्रशिक्षक मोन्टी देशाई बिहीबार हुने चार खेलमा आफू केन्द्रित रहेको र सबै खेल कठिन भएको बताउनु भयो । युएई र पिएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम श्रृंखला भएकाले खेलहरु प्रतिष्पर्धात्मक हुने अपेक्षा राख्नुभयो ।
यस्तै, श्रृंखलामा सहभागि हुन नेपाल भ्रमण गरेका टोलीद्वय युएई र पिएनजीले पनि सुखद् नतिजाका लागि घरेलु टोलीसँग प्रतिष्पर्धा गर्ने बताए । सो क्रममा युएई टोलीका खेलाडी सदस्य भृत्य अरविन्दले नेपालमा हुन लागेको श्रृंखला नयाँ श्रृंखला भएको र एक दिवसीय मान्यताका लागि मेहनत गर्ने बताउनु भयो । उहाँले घरेलु दर्शकको अगाडि खेल्न आफ्नो टोली आतुर रहेकोसमेत बताउनु भयो ।
उता विश्वकप क्रिकेट लिग-२ को पुछारमा रहेको टोली पिएनजीका कप्तान अशद भालाले पछिल्लो समय टोलीले नतिजा सुम्पिए पनि सम्मानजनक खेल खेलेको छ । सोही खेलमा भएको केही कमीकमजोरीलाई सुधार गर्दै खेल्नसके अन्तिम श्रृंखलामा सुखद् नतिजा निकाल्ने अशद भालाले बताउनु भयो । सोही लक्ष्यकासाथ टोलीले अभ्यास गरिरहेको र राम्रो खेलेर लिगमा सुखद् अन्त्य गर्ने योजनामा टोली रहेको अशदले बताउनु भयो ।
घरेलु मैदानमा बिहीबार हुन लागेको अन्तिम श्रृखंलाका लागि नेपाली टोली घोषणा पनि भइसकेको छ । रोहितकुमार पौडेलको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । जसमा युएईमा भर्खरै सम्पन्न लिग-२ खेलेका खेलाडीले नै निरन्तरता दिइएको छ । श्रृंखला फागुन २५ देखि चैत २ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । लिग टुको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले घरेलु मैदानमा चारवटै खेल जित्नुपर्नेछ भने एकदिवसीय मान्यता जोगाउन दुई खेल जित्नुपर्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts