ओलम्पिकको सपना पछ्याउँदै सागर

रासस
रासस
Read Time = 4 mins

महेन्द्रनगर । झण्डै ३३ वर्षपछि सुदूरपश्चिम भारोत्तोलन खेलको इतिहासमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका सागर भण्डारी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने लक्ष्यमा अघि बढ्नुभएको छ । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटीले विभिन्न खेलका सम्भावित खेलाडीको सूचीमा छनोट गरेसँगै २१ वर्षीय सागर यतिबेला गृहनगरमा ओलम्पिकका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा हुनुहुन्छ ।

सुदूरपश्चिमबाट भारोत्तोलन खेलमा पहिलोपटक ३३ वर्षअघि सन् १९८८ को सिओल ओलम्पिकमा कैलाली, धनगढीका खेलाडी स्व. भरत साउदले सहभागिता जनाउनुभएको थियो । ‘ओलम्पिक कमिटीले सागरलाई भारोत्तोलन खेलमा ओलम्पिकमा सहभागी गराउने उद्देश्यले छनोट गरेर अहिले बन्द प्रशिक्षणका लागि महेन्द्रनगर पठाएको छ,’ भारोत्तोलनका प्रशिक्षक जीवन गौतमले भन्नुभयो, ‘पुलिस क्लबमा आबद्ध सागरलाई बन्द प्रशिक्षणका लागि एक महिनाअघि यहाँ पठाएको हो ।’

चौध वर्षको उमेरदेखि भारोत्तोलन खेलमा सक्रिय सागरले बृहत् राष्ट्रिय (आठौँ र नवौँ) मा दुईवटा स्वर्ण जितिसक्नुभएको छ । उहाँ अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धाको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्नुभएको खेलाडी हो ।
सुदूरपश्चिमबाट भारोत्तोलनमा ओलम्पिक यात्राको पहिलो चरणमा रहनुभएका सागरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको अनुभव र लगातारको प्रशिक्षणले मौका पाए ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने योजना रहेको बताउनुभयो ।
एक सय नौ किलो तौल समूहमा उहाँ दुई वर्षदेखि नेपाल प्रहरीको पुलिस क्लबमा आबद्ध हुनुहुन्छ । ‘बुबा सवारी चालक भए पनि मलाई खेलकुदमा सक्रिय हुन जहिल्यै ढाडस दिनुभयो,’ घरका एक्ला छोरा सागरले भन्नुभयो, ‘जुनियर एसियन खेल्न गएपछि अध्ययन प्रभावित भयो ।’

ADVERTISEMENT

ओलम्पिक कमिटी र नेपाल भारोत्तोलन संघको मौखिक निर्देशनपछि सागरलाई आफूले बन्द प्रशिक्षणमा राखेर कभर्डहलमा प्रशिक्षण दिइरहेको प्रशिक्षक गौतमको भनाइ छ । ‘ओलम्पिकमा छनोट वा वाइल्डकार्ड पाएर जाने हो,’ उहाँले भन्नुभयो, ‘भारोत्तोलनमा वाइल्डकार्ड पाएर जानुपरे नेपालको प्रतिनिधित्व सागरले नै गर्नेछन् ।’

उहाँले नेपाली खेलकुदको इतिहासमा ‘वाइल्डकार्ड’ पाएर नै अधिकांश खेलाडीले ओलम्पिकमा सहभागिता जनाएको बताउनुभयो । ‘राम्रो खेलाडी र उमेर कम भएकाले पनि अवसर मिलेको हो,’ उहाँले भन्नुभयो, ‘ऊ (सागर) अत्यन्त मिहिनेती र लगनशील खेलाडी हो ।’

त्यसैगरी बन्द प्रशिक्षणमा रहनुभएका सागरले ओलम्पिकमा जानुअघि अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । ‘अढाई/तीन महिनापछि दक्षिण कोरियामा छनोट प्रतिस्पर्धा हुने कुरो छ,’ उहाँले भन्नुभयो, ‘ओलम्पिक खेल्ने सपना अब सार्थक हुने गरी परिश्रम गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?