कञ्चनपुरमा क्रिकेट मैदान निर्माण अलपत्र

रासस
रासस
Read Time = 5 mins

कञ्चनपुर । कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ । नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृहजिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदान स्तरीय बनाउने विषय भने प्राथमिकतामा परेको छैन । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा आधुनिक क्रिकेट मैदान निर्माण थालनी गरिए पनि सो कार्य अहिले अलपत्र छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत् ठेक्का आहृवान गरेर क्रिकेट मैदान निर्माण थालिएको थियो । मैदानमा निर्माणको पहिलो चरणमा माटो भरान र ‘चेन्जिङ रुम’ मा ३९ लाख खर्च भएको थियो । त्यसपछि सोही आर्थिक वर्षमा ३३ लाखको माटो भरानसमेत भयो ।

दुई वर्षअघि एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरू काम अघि बढ्न सकेको छैन । सोही निर्माणस्थलमा केही वर्षअघि जिल्ला खेलकुद विकास समितिले माछापालनका लागि जग्गा दिँदा अहिले सो क्षेत्र कुरूप बनाएर छाडिएको छ । ‘क्रिकेट मैदानका लागि आएको रकमले माछापोखरी पुर्नुपरेको छ,’ क्रिकेटका एक सिनियर खेलाडीले भन्नुभयो, ‘हचुवाका भरमा खेलकुदको जग्गा अनावश्यक भाडामा दिँदा समस्या भएको छ ।’ पछिल्लो समय यू-१९ को राष्ट्रिय टिममा पनि कञ्चनपुरबाट सन्दीप जोरा, हेमन्त धामी, आकाश चन्द र मिलन बोहरा हुनुहुन्छ ।

कञ्चनपुरमा झण्डै डेढ दशक क्रिकेटको स्वयंसेवक प्रशिक्षकका रूपमा प्रशिक्षण गराउनुभएका वीरेन्द्र शाहीले कञ्चनपुरलाई क्रिकेटको भूमिभन्दा फरक नपर्ने बताउनुभयो । ‘विगतदेखि नै यहाँका खेलाडी राष्ट्रिय टिममा परेर अन्तर्राष्ट्रियस्तरमा आफ्नो परिचय बनाउँदै आएका छन् ।’ हाल सुर्खेतमा प्रशिक्षण गराइरहनुभएका प्रशिक्षक शाहीले भन्नुभयो, ‘यहाँ हरेक समय क्रिकेटका गतिविधि तथा आयोजना प्रशस्त भइरहेका हुन्छन् ।’

ADVERTISEMENT

यहाँस्थित खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले प्रदेश सरकारको रातो किताबमा क्रिकेट मैदानका लागि रकम राखिएको बताउनुभयो । ‘प्रदेशको मन्त्रिमण्डलले पूर्णताः पाएपछि यहाँ बजेट आउने कुरो छ,’ उहाँले भन्नुभयो, ‘यहाँ २०६६ सालमा छैटौँ राष्ट्रिय प्रतियोगिता हुँदा क्रिकेट मैदान बनेको थियो ।’

यता, सुदूरपश्चिम प्रदेश सरकारको पहलमा भने कञ्चनपुरको महेन्द्रनगरमा २६ करोडको लागतमा बहुउद्देश्यीय कभर्डहल बन्ने तयारी छ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभाका सदस्य एवं पूर्वप्रदेशमन्त्री प्रकाश रावलको पहलमा यहाँ सो कभर्डहल निर्माणको सुरुवातका लागि आठ करोड बजेट विनियोजन भएको छ ।

कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्र चन्दले चालु आवमा क्रिकेट मैदानका लागि ५० लाख बजेट विनियोजन भएको बताउनुभयो । ‘राष्ट्रिय खेलकुद परिषद्बाट सो रकम विनियोजन भएको हो,’ उहाँले भन्नुभयो, ‘यो माटो भरानको काम पुनः होला ।’ उहाँले यहाँ राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनका बेला ‘टर्फ पिच’ नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?