दीपेन्द्र र भीमलाई गृहनगरले नगदसहित सम्मान गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही एक लाख ५१ हजार नगदसहित सम्मान गर्ने भएको छ । गृहपालिकासमेत रहेको भीमदत्तले क्रिकेट खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई उक्त पुरस्कार प्रदान गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ ।

हालै काठमाडौंमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गरी जिम्बाबेमा हुने एकदिवसीय विश्वकप क्वालिफायरमा पुग्न सफल भएकामा दुवै खेलाडीलाई नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताउनुभयो ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्र र भीमलाई जनही दुई लाख पुरस्कार दिने घोषणा गरिसकेको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरूप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिनुभयो ।

यस्तै, प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई एक लाख तथा आइसिसी विश्वकप क्रिकेट लिग-२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको शाहीले बताउनुभयो ।

ADVERTISEMENT

एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गर्नुभएको छ ।

प्रदेश सरकारको पुरस्कार घोषणाप्रति खुसी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भीम सार्कीले प्रोत्साहनले आगामी दिनमा क्रिकेट खेल्न हौसला मिलेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको घोषणा निकै प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री शाहलाई धन्यवाद दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका सुदूरपश्चिमका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली यू-१९ टोली हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपाल सन् २०२४ मा हुने आइसिसी यू-१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका सुदूरपश्चिमका पाँच खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा प्रशिक्षक र व्यवस्थापकसहित चारजनालाई जनही ५० हजार पुरस्कार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । यू-१९ क्रिकेट टोलीमा सुदूरपश्चिमबाट दीपक बोहरा, दीपक बोहरा (बी), मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द सहभागी हुनुहुन्थ्यो । यस्तै, टोलीमा मुख्य प्रशिक्षक जगत् टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *