काठमाडौं । विभिन्न आरोप प्रत्यारोपकाबीच अन्ततः सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा फर्कनुभएको छ । बलात्कारको मुद्दा खेपिरहनुभएका सन्दीपलाई नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणमा बोलाएपछि उहाँको नाममा आरोप प्रत्यारोप चलेको थियो ।
धरौटीमा रिहा हुनुभएका उहाँलाई अदालतले क्रिकेट खेल्न भने रोक लगाएको छैन । सोहीकारण क्यानले उहाँलाई बन्द प्रशिक्षणमा समेटेको थियो । बन्द प्रशिक्षणपश्चात् बिहीबार आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजका लागि घोषित नेपाली टोलीमा उहाँले पनि पुनरागमन गर्नुभएको छ ।
बलात्कारको आरोपमा उहाँले ९९ दिन जेलमासमेत बिताउनुपरेको थियो । यसबीच झण्डै पाँच महिना उहाँ टोलीबाहिर बस्नुभयो । क्यानले गत असोजमा लगाएको निलम्बन गत मंगलबार बसेको बोर्ड बैठकले फुकुवा गरेको थियो ।
घोषित नेपाली अन्तिम टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ रहनुभएको छ ।
यस्तै वैकल्पिक खेलाडीमा आरिफ शेख, प्रतिश जिसी, मौसम ढकाल र अर्जुन साउद हुनुहुन्छ । भरपर्दा व्यार आरिफ सेख स्वास्थ्य अवस्थाका कारण टोलीमा नपर्नुभएको हो । आरिफलाई इन्फेक्सन ज्वरो देखिएको क्यानले जनाएको छ । उहाँमा खोकी र दुखाइको समस्या देखिएको छ । आरिफले ३२ ओडिआई खेलमा चार अर्धशतकसहित ५८२ रन जोड्नुभएको थियो ।
यस्तै युवा स्पिनर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा पर्नुभएको छ । सूर्यसँगै नेपाली टोलीमा सन्दीप र ललित गरी तीनजना स्पिनरहरू रहनुभएको छ । नेपालले घरेलु मैदान टियुमा पहिलो खेल फागुन २ (फेब्रुवरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्याण्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुवरी १८) मा नामिबियासँग खेल्नेछ ।
नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९ (फेब्रुवरी २१) मा स्कटल्याण्डसँग खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts