अव्यवस्थित डम्पिङसाइडले कोरिडोर दुर्गन्धित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहोरको डङ्गुरले बनेको अग्लो पहाड । दैनिक बागलुङ बजारबाट ल्याइने फोहोर कालिगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौँ भयो । यहाँ राखिएको फोहोरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाई समेत समस्यामा परेको छ ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर छेउमै रहेको बागलुङ बजारको डम्पिङसाइडले आगन्तुकलाई समेत गिज्याइ रहेको छ । करिब डेढ दशकसम्म कालीगण्डकी नदीमा फोहोर फाल्दै आएको बागलुङ नगरपालिकाले अदालतको आदेशपछि ठाउँ फेरेर यहाँ फाल्न थालेको थियो । फोहोर व्यवस्थापन गर्ने ठाउँको सिधैमाथि प्रसिद्ध बागलुङ कालिका मन्दिर छ । यसको असर मन्दिरमा पनि पुगेको पाइएको छ ।

वर्षौँदेखि अस्थायी रूपमा यहाँ फोहोर फाल्दै आएको बागलुङ नगरपालिकाले व्यवस्थित डम्पिङसाइड व्यवस्थापन गर्न सकेको छैन । जस कारण यात्रु, स्थानीय र दर्शनार्थीलाई समस्या हुने गरेको छ । गाडी चालक पदम नेपालीले दैनिक यही सडक भएर यात्रु लिएर हिड्दा फोहोरको गन्दले यात्रुले बान्ता गर्ने बताउनुभयो ।

चालक नेपाली भन्नुहुन्छ- “यो बाटो दैनिक दुई पटक हिड्नु पर्छ, फोहोरको यत्रो थुप्रो छ, अहिले जाडो भएर धेरै गन्ध आएको छैन, अलिअलि माक्सले पनि छेक्दो रैछ, गर्मी सिजनमा त निकै गाह्रो हुन्छ, यात्रुहरुले वाक्ने, रिङ्गटा लाग्यो भन्ने गर्छन्, फोहोरको गन्धले होला हामीहरुलाई पनि टाउको दुग्ने, वाकवाकी होला जस्तो हुन्छ ।”

कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको बहाना तथा कहिले डीपीआर बनाउने भन्दै काम अगाडि नबढेको नगरपालिका बताउँछ । फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना बनाएर पनि कार्यान्वयन नगर्दा यात्रुहरुले दुर्गन्ध व्यहोर्नु परेको जैमिनी नगरपालिका-८ का शिव सुनारले गुनासो पोख्नु भयो ।

उहाँ भन्नुहुन्छ- “राष्ट्रिय गौरवको आयोजनाकै छेउमा यस्तो हालत छ, फोहोरको डङ्गुरले भरिएको छ, बाटोमा पैदल त हिड्नै सकिन्न गन्हाएर, नाक मुख छोपेर पनि फोहोरको गन्ध ह्वास्सै पस्छ, सम्बन्धित निकायले ध्यान नदिएर हो को, बजारबासीको लापरवाही होकी, केही बुझ्नै सकिएन, बाहिरबाट आएको मान्छेले के भन्छन्, यो देख्दा ?”

ADVERTISEMENT

अहिले पनि बजेट अभावमा यसको काम अलपत्र भएको नगरपालिकाले जनाएको छ । वरिपरि पर्खाल लगाएर फालिएको फोहोरले भरिएपछि स्थायी डम्पिङसाइटको माग बढेको छ । नगरपालिकाले वार्षिक ५० लाख रुपैयाँमा उक्त फोहोरबाट नकुहिने वस्तुको निकासी ठेक्का लगाउने गरेको छ । स्थायी डम्पिङसाइड निर्माण नहुन्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्योल भएको हो ।

फोहोर व्यवस्थापनका लागि दश वर्षअघि नै दुई करोड लागतमा बनाउने भनिएको स्थायी डम्पिङसाइडको डिजाइन भई सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो । तत्कालीन फोहोर व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले रकम उपलब्ध गराउने भनिए पनि स्वीकृत नभएपछि थप काम अगाडि नबढेको हो । स्थानीय सरकार आए पनि योजना अगाडि बढाउन चासो नदिएको स्थानीयको गुनासो छ ।

“हावाले सबै फोहोर उठाएर घर भित्रै ल्याउँछ, यहाँका स्थानीयहरुले नगरपालिकामा गएर भन्यौँ, छिटै समस्या समाधान हुन्छ भनेको वर्षौं भयो, अहिले पनि अवस्था उस्तै छ,” स्थानीय मनबहादुर माझीले भन्नुभयो-“बस्ती नजिकै लिएर फोहोर फाल्छन्, यसले हामीहरुलाई निकै दुःख दिएको छ, फागुन चैतबाट बाहिर बस्नै हुन्न, सबै फोहोर उडेर यही आउँछ ।”

बागलुङ नगरपालिकाले व्यवस्थित ढल र फोहोर व्यवस्थापनका लागि योजना बनाएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले जग्गा व्यवस्थापन भएपछि नगरपालिका, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर व्यवस्थित डम्पिङसाइड निर्माण गर्ने बताउनुभयो । अहिले फोहोर फालिँदै आएको ठाउँ उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुँदासम्म यहाँ व्यवस्थित रुपमा फोहोर फाल्ने गरि काम गरेको नगर प्रमुख श्रेष्ठको भनाई छ ।

“अहिलेको फोहोर फाल्ने स्थान कत्ति पनि उचित छैन, ठाउँ अभावका कारण यहाँ फाल्नु पर्ने बाध्यता हो, यहाँ पनि त्यसरी फोहोर जथाभावी रुपमा फालिएको छैन, घेरा लगाएर पर्खाल भित्र फोहोर छ, हावाहुरीले समस्या बनाएको छ,” उहाँले भन्नुभयो- “व्यवस्थित फोहोर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौं, त्यो बनाएर छोड्छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *