नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा मोन्टी देशाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा भारतका मोन्टी देशाई नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आहृवान गरेको आवेदनमार्फत् उहाँलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । मुख्य प्रशिक्षक देशाई नेपाल आइसक्नुभएको छ । यद्यपि राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले अनुमति नदिँदा हालसम्म देशाईलाई क्यानले औपचारिकरूपमा सार्वजनिक गरेको छैन ।

क्यानले आहृवान गरेको आवेदनमा कुल २४ जनाले निवेदन दिएका थिए । जसमा देशाईसँगै पूर्वमुख्य प्रशिक्षक डेभ हृवाटमोर, श्रीलंका तीव्रगतिका बलर धाम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी-२० टोलीका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग क्यानले अन्तर्वार्ता लिएको थियो । त्यसमध्येबाट देशाईलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।

देशाईले यसअघि पनि ब्याटिङ परामर्शदाताका रूपमा नेपाली टोली सम्हालिसक्नुभएको छ । उहाँको प्रशिक्षकत्वमा नेपाली यू-१९ टोलीले चार वर्षअघि भारतलाई पराजित गरेको थियो ।

देशाई यसअघि वेस्टइण्डिजको ब्याटिङ प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँको सम्झौता सकिएसँगै उहाँ नेपालको प्रशिक्षकमा नियुक्त हुनुभएको हो । वेस्टइण्डिजबाहेक उहाँसँग अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्स, राजस्थान रोयल्स, पञ्जाब किंग्सको प्रशिक्षक भइसकेको अनुभव छ । दुई हप्तापछि घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा नेपालले स्कटल्याण्ड र नामिबियासँग आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दैछ । उक्त सिरिजको तयारी देशाईले गराउनुहुनेछ ।

ADVERTISEMENT

उक्त सिरिजको बन्द प्रशिक्षणका लागि क्यानले शुक्रबारमात्र २८ सदस्य टोली बोलाएको छ । बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, ललितनारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी हुनुहुन्छ ।

सिरिजको पहिलो खेलमा नेपालले फेब्रुअरी १४ मा नामिबियासँग खेल्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *