जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

बलेवा । दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका-७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुग्नुभयो । सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गर्नुभयो । प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए । जब बच्चा जन्मिने बेला भयो, झ्याप्प बिजुली गयो ।

बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार-हतार खल्तिमा रहेको मोबाइल निकाले । मोबाइलको लाइट बाले । मोबाइलको लाइटकै भरमा तीनजनालाई सुत्केरी गराएको स्वास्थ्यचौकीकी अनमी माधुरी नेपाली बताउनुहुन्छ । “धेरै पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युत्‌काे वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ”, नेपाली भन्नुहुन्छ, “बर्थिङ सेन्टरजस्तो संवेदनशील ठाउँमा बत्तीको भरपर्दो व्यवस्था छैन ।”

स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताउनुभयो । “हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गर्दैआएका छौँ तर सुनवाई भएको छैन”, उहाँले भन्नुभयो ।

बेलाबेलामा बिना सूचना काटिने विद्युत्‌ले यहाँका स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ । बर्थिङ सेन्टर रहेको स्वास्थ्यचौकीमा चालु आर्थिक वर्षमा १९ जना सुत्केरी भएका छन् । अधिकांश रातिको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले विद्युत् काटिएका बेला समस्या भोग्ने गरेका हुन् ।

ADVERTISEMENT

“एक त हामीसँग प्रयाप्त जनशक्ति छैन, भएको जनशक्तिले काम गरिरहेका बेला एकजनाले मोबाइलको लाइटको व्यवस्था गर्नुपर्छ”, कार्कीले भन्नुभयो, “हामीसित मोबाइल कोखमा च्यापेर सुत्केरी गराएका धेरै अनुभव छन् ।” यो समस्या गलकोट नगरपालिकाका स्वास्थ्य संस्थामा मात्रै होइन, बागलुङका अधिकांश स्वास्थ्य संस्थामा छ । स्थानीय तहले विद्युत्को वैकल्पिक व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीले आकस्मिक उपचार तथा प्रसूतिको समयमा सास्ती ब्यहोर्नुपरेको हो ।

बर्थिङ सेन्टर रहेको बरेङ गाउँपालिकाको बाटाका चौर स्वास्थ्यचौकीमा पनि बैकल्पिक ऊर्जाको समस्या छ । छिमेकी जिल्ला गुल्मी हुँदै बरेङ ल्याइएको केन्द्रीय प्रसारण लाइनको विद्युत् सामान्य हावा चल्दासमेत अवरुद्ध हुने गरेको छ । “एक पटक गयो भने तीन/चार दिन विद्युत् आउँदैन्, ब्याकअप नहुँदा सबैभन्दा समस्या सुत्केरी गराउने बेला हुन्छ”, स्वास्थ्यचौकीका निमित्त प्रमुख धर्मप्रकाश थारुले भन्नुभयोे, “बर्थिङ सेन्टरलाई संवेदनशील मानेर आवश्यक पूर्वाधार तयार गर्नुपर्छ ।”

विद्युत् नहुँदा मोबाइलकै भर पर्नुपरेको उहाँले सुनाउनुभयो । बरेङ गाउँपालिकाले भने केही स्वास्थ्य संस्थामा विद्युत् नभएका बेला वैकल्पिक प्रयोगका लागि ‘ब्याकअप’ जडान गरेको छ । धुल्लुबास्कोट स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा जडान गरिएको ‘ब्याकअप’ले सहयोग पुगेको अनमी अनिसा आचार्यले बताउनुभयो ।

गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा ‘ब्याकअप’ पुर्‍याउने योजना बनाएको छ । “क्रमैसँग सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउँछौँ, एकै पटक बजेटका कारण सम्भव छैन्”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *