सुदूरपश्चिम विश्वविद्यालयः विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयको विज्ञान प्रविधि, इञ्जीनियरिङ र कृषि विज्ञानतर्फ हाल एक हजार दुई सय ३० विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । उहाँका अनुसार शैक्षिकसत्र २०७७/७८ मा प्राविधिकतर्फ आठ सय ८६ विद्यार्थी मात्रै भर्ना भएकामा २०७८/७९ मा एक हजार दुई सय ३० विद्यार्थी भर्ना भएका थिए । यसैगरी शैक्षिकसत्र २०७६/७७ मा छ सय ७१ विद्यार्थी भर्ना भएका थिए । पछिल्ला शैक्षिकसत्रमा प्राविधिक विषय बढ्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी विष्टले बताउनुभयो ।

“सबै सङ्कायमा सुदूरपश्चिम विश्वविद्यालयमा हरेक वर्ष विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ, विशेषगरी प्राविधिक विषय पढ्न आउने धेरै छन्”, उहाँले भन्नुभयो, “अहिले विश्वविद्यालयमा १७ हजार दुई सय ३८ विद्यार्थी अध्ययनरत छन् ।”

सुदूरपश्चिम विश्वविद्याल आङ्गिक क्याम्पसका हिसाबले नेपालको दोस्रो ठूलो विश्वविद्यालय हो । हाल सुदूरपश्चिमका १६ आङ्गिक क्याम्पस यसमा आवद्ध छन् । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विद्यार्थीको चाप बढेको बताउनुभयो । उहाँका अनुसार विज्ञान प्रविधि, इञ्जीनियरिङ, कृषि विज्ञान, व्यवस्थापन र कानुन सङ्कायमा विद्यार्थीको अत्यधिक चाप छ ।

“विज्ञान, कृषि प्रविधि, इञ्जीनियरिङ र व्यवस्थापन सङ्कायमा निश्चित विद्यार्धीमात्रै भर्ना लिन्छाैँ, व्यवस्थापनमा ९० र विज्ञान/कृषि प्रविधिमा एक सय १० जनालाई मात्र भर्ना गर्छौँ”, उहाँले भन्नुभयो, “यी विषयमा भर्ना हुनका लागि हरेक वर्ष चार/पाँच सय विद्यार्थीले आवेदन दिने गरेका छन् ।” आवेदन दिएका विद्यार्थीमध्ये प्रवेश परीक्षामा छनोटमा पर्ने विद्यार्थीले मात्रै अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ ।

ADVERTISEMENT

गत शैक्षिकसत्रदेखि विश्वविद्यालयले कानुन सङ्कायसमेत सञ्चालन गरेपछि कानुनतर्फ विद्यार्थीको चाप बढेको छ । “कैलाली र केन्द्रीय क्याम्पस महेन्द्रनगरमा विद्यार्थीको बढी चाप छ” उपकुलपति जोशीले भन्नुभयो, “विद्यार्थीले रोजगारीको सुनिश्चितता खोज्ने भएकाले पनि प्राविधिक विषय पढ्नेको सङ्ख्या बढेको हो ।”

हाल विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र सङ्कायमा तीन हजार छ सय ५२, शिक्षाशस्त्र सङ्कायमा पाँच हजार आठ सय छ, व्यवस्थापन सङ्कायमा छ हजार तीन सय १८, विज्ञान प्रविधितर्फ पाँच सय, इञ्जीनियरिङतर्फ तीन सय २७, कृषि विज्ञानतर्फ चार सय तीन र कानुन सङ्कायमा दुई सय ३२ गरी जम्मा १७ हजार दुई सय ३८ विद्यार्थी अध्ययनरत छन् ।

सुदूरपश्चिम विश्वविद्यालय उपप्राध्यापक दीपकचन्द्र भट्टले पछिल्ला शैक्षिकसत्रमा विश्विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “प्राविधिक शिक्षाको माग बढी भएकाले यो वियषतर्फ विद्यार्थी आकर्षित हुने गरेका छन्”, उहाँले भन्नुभयो, “विश्वविद्यालयमा विषयविज्ञ थपिँदै जानु र विश्वविद्यालयप्रतिको जनविश्वास बढ्नुले पनि हरेक वर्ष विद्यार्थीको चाप बढिरहेको छ ।”

विसं २०६७ मा नेपाल सरकारको लगानीमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपनि २०६९ सालमा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयले हाल प्रदेशका नौवटा जिल्लामा १५ क्याम्पसबाट उच्च शिक्षा प्रदान गर्दै आएको छ । स्नातक तहमा २२ र स्नाकोत्तर तहमा १० शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । गत शैक्षिकसत्रदेखि स्वास्थ्य विज्ञान सङ्काय तथा कानुन सङ्काय पनि सञ्चालनमा ल्याएको छ । त्यसैगरी मानविकी तथा समाजिकशास्त्र तथा व्यवस्थापन सङ्कायमा एमफिल र पिएचडी कार्यक्रममा विश्वविद्यालयमा सञ्चालनमा छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *