✍️ रिसव गौतम
हिमालय टाइम्स दैनिकले तीन दशक पार गर्दै गर्दा अत्यन्तै खुशी लागेको छ । म भन्दा जम्मा पाँच वर्ष कान्छो यस दैनिक पत्रिका मेरा लागि लेखकीय दृष्टिले पाठशालासमेत हो । जतिबेला म(०६६-६७ सालमा) नेपाल कमर्श क्यापसमा बीबीएस अध्ययन गर्दै थिँए । त्यही ताकादेखि यस पत्रिकासँग नवलेखकको रूपमा जोडिएको हूँ । पत्रिका युगको त्यो समयमा लोकप्रिय हिमालय टाइम्स दैनिकले म जस्ता अरू धेरैलाई लेखक बन्न सघायो । त्यसताका नियमित रूपमा हिमालय टाइम्स, नेपाल समाचारपत्र, कारोबार दैनिक, नयाँ पत्रिका दैनिकलगायतमा कलम चलाउँथे । कलम चलाएरै मैले धेरथोरै खर्चको जोगाड पनि गरेको थिएँ । पढ्दै गर्दा ‘पार्ट टाइम जब’ जस्तै भएको थियो त्यो बेलाको मेरो लेखनी ।
पत्रिकाहरूको बोलवाला रहेको त्यो समयमा मेरो लेख रचनाहरू हिमालय टाइम्सलगायत दैनिकहरूमा स्थान पाउँदा कलेजमा चर्चासमेत हुन्थ्यो । खासगरी नेपाल कमर्श क्यापस आसपास पुस्तक तथा पत्रपत्रिका पसलहरू थिए । बिहानै धेरैजसो विद्यार्थी राजनीति गर्नेहरू, कलेजका बौद्धिक प्राध्यापकहरू पत्रिका पढ्थे । उनीहरूको तारिफ र हौसलाले मलाई लेखिरहन प्रोत्साहन मिल्यो । लेख्दै जाँदा ०७० सालपछि त मैले कलेजनजिकैको खनाल पब्लिकेशनमा ‘टिउ सोलुसन’ लेख्ने अवसर पाएँ । त्रिभुवन विश्वविद्यालयले विगतमा सोधेको प्रश्नहरूको उत्तरको र सम्भावित प्रश्नोत्तरको संगालो ती पुस्तकहरू मैले बीबीएस र पछि एमबिएसकै गरी तीन-चारवटा जति लेखेँ ।
पछि त्रिविले नयाँ कोर्स डिजाइन गरेपछि खनाल पब्लिकेशनबाट बीबीएस प्रथम वर्षको ‘कोर्स बुक’ नै लेखेको हुँ । जतिबेला म एमबिएस उत्तीर्ण भइसकेको थिए । यसरी मैले पढ्दै गर्दा पत्रपत्रिकाहरूमा लेखेँ, त्यसैको जगमा खनाल पब्लिकेशनमा विद्यार्थीहरूलाई उपयोगी हुने पुस्तक लेखेँ । अर्थात् म विद्यार्थी हुँदै विद्यार्थीहरूकै लेखक भइसकेको थिएँ । कतिले त मलाई तपाईंले लेखेको ‘टिउ सोलुसन’ पढेर पास भएँ भन्दै धन्यवाद पनि दिए ।
हिमालय टाइम्सले डिजिटल माध्यम ‘ई हिमालय टाइम्स डटकम’लाई प्रभावकारी बनाउँदै लगेको देखिन्छ । यस पत्रिकाले पनि अरू ठूला दैनिकहरूले जस्तै बाहिरी पृष्ठलाई हरेक दिन खोजमूलक लामा स्टोरीहरू दिनसक्ने हो भने बौद्धिक वर्गले यसलाई पछ्याउने थिए ।
त्यो सबै कुराको जस हिमालय टाइम्स जस्ता पत्रिकाहरूकै हो । उनीहरूले मलाई स्थान दिएर लेखक बनाएका थिएनन् भने अरूले त्यस्ता अवसर कसरी दिन्थे र ? त्यसताका यो महँगी शहर काठमाडौंमा मैले लेखेरै आत्मनिर्भर भएको थिएँ । म क्रमशः यसैमा रमाउन थालेँ र ०७२ सालपछि निरन्तर आर्थिक पत्रकारिता र लेखन, विश्लेषणमा सक्रिय छु । पत्रकारिताकै जगमा बढेको जनसम्पर्क र पाठकको मायाले गर्दा दुःख सुखको यस पेशालाई मैले भित्रैदेखि माया गर्ने गरेको छु । वास्तबमा हिमालय टाइम्स यस्तो दैनिक पत्रिका हो जसले संकटकै घडीमा पनि लेखकहरूलाई खाली हात गराएको छैन । मैले देखेदेखि यस पत्रिकाको उही र उस्तै संर्घषरत यात्रा कायम छ । कहीँकतै घमण्ड छैन । तडक भडक छैन ।
पत्रकारिताको लामो यात्रा तय गरेको यस पत्रिका वास्तबमा आचारसंहिता र अनुशासनको एउटा मानकसमेत हो । नेपालको पत्रकारिता क्षेत्रमा थरिथरिका प्रवृत्ति देखिन्छन् । कोही घमण्डले भूइँ छोडेका छन् । कोही पत्रकारिता पढेर आएका हौं भन्छन् तर जनताको हितमा पत्रकारिता चाँहि गर्दैनन् । अरूलाई गाली गर्ने, दुत्कार्ने, अलिकति आफ्नै साथी अघि बढ्यो भने पनि खुट्टा काट्ने र बदनामीसमेत गर्न पछि नपर्ने, भेटेको एकैछिन् पछि कुरा काट्न थाल्ने अनेक प्रवृत्ति छन् तर वास्तबमा पत्रकारिता जनताका लागि हो । एउटा अल्पविकसित एवं गरिब देशको नागरिकहरू सबैमा एकै किसिमको चेतना कहाँ हुन्छ र ?
अरू दैनिकहरू कतिपय विवादित भए, कतिले जनताको भन्दा साहुको खबर बढी लेखे भनेर आलोच्य भए । तर, हिमालय टाइम्स जनताकै पत्रिका भएर रहिरहेको छ । आर्थिक तडकभडक उसको नभए पनि निरन्तरता लोभलाग्दो छ । पछिल्लो समय हिमालय टाइम्सले डिजिटल माध्यममा पनि आफूलाई अभ्यस्त बनाएको देखिन्छ । खुशी लाग्छ । सूचना सञ्चारको क्षेत्रमा आएको क्रान्ति र त्यसको भूमण्डलीकरणले गर्दा अहिले त जमाना डिजिटल माध्यमको छ । फलस्वरूप प्रिन्ट मिडियालाई सकश छ । नेपालको हकमा लोककल्याणकारी विज्ञापन तथा सरकारी विज्ञापन (टेन्डर तथा अन्य सूचनाहरू) पत्रपत्रिकामा अनिवार्य जस्तै गरिएको कारण यो मिडिया टिकिरहेको जस्तो देखिन्छ ।
अन्यथा अनलाइनहरूले प्रिन्ट मिडियालाई धेरै नै चुनौती दिइरहेको छ । यस्तो परिपेक्षमा हिमालय टाइम्सले डिजिटल माध्यम ‘ई हिमालय टाइम्स डटकम’लाई प्रभावकारी बनाउँदै लगेको देखिन्छ । यस पत्रिकाले पनि अरू ठूला दैनिकहरूले जस्तै बाहिरी पृष्ठलाई हरेक दिन खोजमूलक लामा स्टोरीहरू दिनसक्ने हो भने बौद्धिक वर्गले यसलाई पछ्याउने थिए । घण्टा-घण्टा, मिनेट-मिनेटमा नयाँ खबरहरूको बे्रक हुने यो समयमा पत्रिकाहरूले आफूलाई खोजमूलक बनाउनुको अरू उपाय छैनन् । अन्यथा बासी समाचार पढ्नलाई मान्छेले पत्रिका कहाँ खोज्छन् र ? तर हिमालय टाइम्स पत्रिकाले लेख रचना पृष्ठलाई बौद्धिक एवं पठनीय बनाएकै छ । साहित्यलाई पनि उत्तिकै स्थान दिएको देखिन्छ । अब हिमालय टाइम्सले आवरण खबरहरूलाई अझै खोजमूलक बनाओस्, शुभकामना छ ।






