काठमाडौं । नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै छ । बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै अहिले युवा टोलीले तयारीलाई तीव्रता दिइरहेको छ । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा सहभागी हुने टोलीलाई मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रशिक्षण गराइरहनुभएको छ । पहिलोपटक सहभागिता हुन लागेको प्रतियोगितामा नेपालको लक्ष्य कम्तीमा पनि पदक रहेको छ ।
बंगलादेशको ढाकामा पुस ५ गतेदेखि ११ गतेसम्म काभा यू-२३ प्रतियोगिता आयोजना हुँदैछ । सोही प्रतियोगिताका लागि नेपाली टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा तयारी गरिरहेको छ । बिहान र साँझ गरी दुई समयमा सुखद नतिजा निकाल्ने लक्ष्यसहित तयारीलाई तीव्रता दिइरहेको हो । पहिलोपटक सहभागिता जनाउन लागेको उमेर समूहको प्रतियोगितामा नयाँ खेलाडीलाई अवसर दिइएको छ । लामो प्रक्रियाबाट छनोट हुँदै आएका खेलाडीलाई संघले बन्द प्रशिक्षणमा राखेर अभ्यास गराइरहेको हो । आयोजक बंगलादेश, श्रीलंका, कीर्गिस्तान र नेपालले सहभागिता जनाएको प्रतियोगितालाई सार्थक पार्न विगत ४० दिनदेखि नेपाली टोली तल्लीन छ । नेपाली टोलीलाई दुई सिफ्टमा अभ्यास गराइरहनुभएका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बलिया टोलीविरुद्ध नेपालले प्रतिस्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गर्नुभयो । ८० जनाको प्रारम्भिक छनोट पार गर्दै अन्तिम १४ खेलाडीको टुंगो लागिसकेको अवस्थामा पनि नयाँ खेलाडीमा केही शारीरिक र मानसिक कमजोरी भएको उहाँले बताउनुभयो । तर पनि दैनिक सात घण्टाको प्रशिक्षण र घरेलु टोलीसँगको अभ्यास खेलबाट मनोबल दिलाउने उहाँले बताउनुभयो ।
एक सातासम्म आयोजना हुने प्रतियोगिताको तालिका सार्वजनिक पनि भइसकेको छ । सार्वजनिक भएको तालिकाअनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । बंगलादेश सिनियर टोलीमा नेपालभन्दा बलियो भए पनि उमेर समूहमा नेपाल जस्तै अगाडि बढ्दै गरेको टोली हो । यस्तै, अन्य प्रतिस्पर्धी टोली पनि उदाउँदै गरेका भएकाले नेपालको सम्भावना रहेको प्रशिक्षक भट्टको बुझाइ छ । चार दशक सहभागिता जनाउन नसकेको अवस्थामा उमेर समूहको नेपाली टोलीको सहभागिता अनुभव लिने अवसर भएको भएको उहाँले बताउनुभयो । सहभागिता जनाउँदै गर्दा लक्ष्य स्वर्ण पदक जित्ने लक्ष्य राखेको तर सहभागिताको हिसाबमा पहिलो भएकाले कम्तीमा पनि मेडल ल्याउनेमा प्रशिक्षक भट्ट आशावादी हुनुहुन्छ । अहिले बन्द प्रशिक्षणमा रहेको टोलीमा सबल र दुर्बल पक्ष सबै भएको र सबल पक्षको भरपुर सदुपयोग गर्दै प्रतियोगितामा नेपाली टोली अगाडि बढ्ने उहाँले बताउनुभयो ।
चार टोलीले सहभागिता जनाउने प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दा लिगको दोस्रो खेल ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा कीर्गिस्तानसँग खेल्नेछ । चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुग्नेछन् । जसअन्तर्गत शीर्ष टोलीले पुछारमा रहने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दा दोस्रो सेमिफाइनल खेल दोस्रो र तेस्रो स्थानको टोलीबीच हुनेछ । नेपालले कम्तीमा पनि तेस्रो भएको अवस्थामा मेडल हात पार्नेछ । सेमिफाइनल १० पुसमा हुनेछ भने फाइनल ११ पुसमा हुनेछ ।
अन्तिम १४ सदस्यीय टोली
धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रूपबहादुर गुराउ, विष्णु बस्नेत, सफल बिक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भीम राज गुरुङ (लिबेरो) ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements