पोखरा । पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) जुनियर-५ टेनिस प्रतियोगिता सर्किट-२ को उपाधि पुरुषतर्फ चाइनिज ताइपेइका के हाउ हाङ र महिलातर्फ रसियाकी लैला आक्मेतोवाले जित्नुभएको छ । नेपाल टेनिस संघको सहयोग र कास्की जिल्ला टेनिस संघको आयोजनामा यही मंसिर १९ देखि पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पुरुष एकलतर्फ हाङले अमेरिकाका हानु पटेललाई ‘रिटायर्ड हर्ट’मा पराजित गर्दै च्याम्पियन बन्नुभयो ।
दोस्रो सेटको खेलमा १-० ले पछि पर्नुभएका अमेरिकाका हानुले स्वास्थ्यमा आएको खराबीका कारण खेल बीचमै छाड्नुभएको थियो । पहिलो सेटको खेल ताइपेइका हाङले ६-४ को सेटमा आफ्नो पक्षमा पार्न सफल हुनुभएको थियो ।
यसैगरी महिलातर्फको फाइनलमा रसियन खेलाडी आक्मेतोवाले भारतकी दुर्गान्सी कुमारमाथि ६-१, ६-१ सेटमा जित हासिल गर्दै उपाधि आफ्नो पक्षमा पार्नुभएको हो । प्रतियोगितामा विजयी खेलाडीले आइटिएफको महत्वपूर्ण ३० अंक पाएका छन् ।
यसैगरी द्वितीय स्थान हासिल गरेका पुरुष तथा महिला खेलाडीले १८ अंक जोडेका छन् । खेलाडीले प्राप्त गरेको अंकका आधारमा उनीहरूको वरीयता निर्धारण हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले अन्तर्राष्ट्रिस्तरको टेनिस प्रतियोगिताले पोखराको प्रवद्र्धनमा सघाउ पुगेको बताउँदै पोखरामा आगामी दिनमा माछापुच्छ्रे राष्ट्रिय ओपन तथा भेट्रान्स प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो । यही मंसिर १९ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न देशका ९९ खेलाडीले अंकका लागि प्रतिस्पर्धा गरेका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता