कविता : शब्द शताब्दी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

✍️ अच्युतराज दाहाल

न शब्दले छुने अभिलाषा राख्छ
न दृश्यको भावना सुनिन्छ
समात्न चाहँदा चाहँदै नसमातिएको,
टिप्न खोज्दाखोज्दै नटिपिएको
शब्दहरू बटुल्दा बटुल्दै,
शब्दहरूको अर्थ पछ्याउँदा पछ्याउँदै,
भयानक क्षेप्यास्त्रहरूको
त्रास बोकेर हिँडेको शताब्दी ।

युद्धको सन्त्रास, उग्रवादको बिगबिगी
क्रान्तिको नाममा चलेको हिंसा
समाजमा चलेको अशान्त वातावरण
आक्रोश, भ्रष्टाचार, बलात्कार
असमानता, नेतागिरी, नातावाद र
कृपावादमा देशको हलो अड्किदा
किसानको फालीको टुप्पोमा
हाते औंजारहरूमा खिया लागेको छ
पौरखी हातहरूमा
देश अड्केको थियो
आफ्नै कथाहरूमा
आस्था र विश्वासहरूमा
नीति र आकांक्षामा
आनुभूति र चिन्तनमा
आफ्नै श्वास र प्रश्वासमा
आफ्नै स्पन्दनमा
मेरो देश मभित्रै बाँचेको थियो
मेरो देश मभित्रै बोलेको थियो
धैर्य र स्थिरताको पाठ पढाउँदै
सिंगो हिमाल मभित्र अटेको थियो
मेरो नेपाल मभित्र अटाएको थियो
हामी रमाउन सक्ने थियो मेरो देश
देशले आजै सृष्टिको कोलाहलभित्र
बादलको खोल होइन
खुशीको बिहानी
खोजेको छ
तर, भोलि आउँदै छ
भोलि
उज्यालो हुनेछ
भोलिको नयाँ शताब्दी जलमग्न हुँदै
मेरै माटोमा मेरो बुद्धलाई
चिहानमा पुरेर
मेरा आफ्नैलाई हत्या गरेर
मेरो मधेस, मेरो पहाड
मेरो हिमाल, मेरो तराईलाई
हिरोसिमा र नागासाकी झैँ
बनाउँदै हिटलर बनेर आएको छ
यो शताब्दी, यी शब्दहरू ।

आज जनका कुनै आवाजहरूको
कुनै मूल्य छैन, कुनै छट्पटाइको
आश्रय छैन कुनै भावनाको
कदर छैन कुनै आकांक्षाको
पूर्णता छैन ।

इतिहास बोल्न सक्दैन
संस्कृति सुस्केरा हाल्छ
दर्शन मौन छ
राजनीति बोलिने टाउकाहरूको आँखामा,
मोलमोलाइको कालो पट्टी
बाँधिएको छ
उत्पादनको नशा पिएर
अर्थको मातमा नशालु भएर
भिœयाइयको छ देश चिरा पार्दै
देशकै सिमाना मिच्ने रसायन
ंफाँडेको छ सिद्धान्त
सल्काएको छ क्रान्तिको आगो
पड्काएको छ मानवता ।

ADVERTISEMENT

शब्द शब्दमा रोदन
छाती छ मुटु छैन
मुटु छ ममता छैन
आँट छ लक्ष्य छैन
अँखाहरू बिरालाका जस्ता छन्
टाउकाहरू बाँदरका झैँ छन्
नङ्ग्राहरू छन् चिलका तर
मानिसकै जस्तो छ जुलुसहरूमा
हिँड्नेहरूको आकार
हमेसा मानिसहरूको जस्तो ।

ए मेरा अज्ञात अनाम पुर्खाहरू हो,
अझैसम्म जल्दैछन्
तिमीहरूका मुक शब्दहरू
झरिलो दुबोसरि तिमी इतिहास भयौ
तर, तिम्रो इतिहास रहेन
किन तिमी माटोसँग मात्र लड्यौ ?
किन तिमी माटाका लगि लडेनौ ?

आज विरूप आधुनिकता अँगाली
नेता बन्नेहरू जोड्तोड
आफ्नै घरलाई फोरेर
अरूसँग हात जोडेर किन
यो शताब्दीको यही हो माग ?
कि तिमीहरू समाजदेखि भाग
आज आफ्नो दायित्व भुलेर
माली ढुक्क फूल पाएर
अधिकारी फुरुक्क
पाँच पाँच वर्षमा रंगिने पोस्टरहरूले
रंगिने भित्ताका छातीहरू पनि
केवल अर्को पाँच वर्ष
कुरेर बसेका छन्
क्षमताका नशाले रल्लिएका जवानीहरूमा
हावाले उडाएका खोक्रा मस्तिष्कहरूले
भोकको अस्तित्व संकटमा परेको देख्दै छन्
शताब्दिऔंदेखि प्रतीक्षामा छन् मनहरू
राम्रो दिन आउनेछ रे भनेर
तर खोइ कहिले आउँछ ? कुन बाटो आउँछ ?

चन्द्रनिगाहपुर, रौतहट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *