✍️अच्युतराज दाहाल
बाह्रमासे ऋतुहरूमा
धानको बाला
गरा गरामा
चरीको चिरबिर धुनमा
संगीतको लय, ताल र सुरमा
जीवनलाई जीवनधारा तुल्याई
जगतलाई घुड्की पिलाऊ ।
बालकदेखि वृद्ध भइसकेका
जगत वृक्षलाई
परिवर्तनको पुकार गर्दै
नाच्न गाउँन सिकाऊ ।
वृक्षका चिल्ला पातले
सरिताको कलकल आवाजले
कठांग्रिएको जीवनमा
सत्यम् शिवम् सुन्दरम्को माला गुताऊ ।
मुना मदनका
मनका व्यथा र वीरहहरूलाई
झ्याउरे लयको कसीमा घोटी
जिन्दगीलाई गाउँन बजाउँन सिकाऊ ।
काहीँ प्रकृतिका मनोहर रूपमा
इन्द्रेणीका सप्तरङ्गमा
सन्ध्याको मनमोहक दृश्यावलीमा
यात्री भई
भिखारीदेखि कुबेरसम्म
पुतलीको फर्फराइ हेर्दै
घाँसीसित मित लाउँदै
प्रीतिका गीत गाउँदै
झरनाको कलकल स्वच्छताको
सुन्दर जल लिई
जीवन यात्रामा हिँडेर
सुनको बिहान
नेपालीको दूत भएर
नवरसको रसानुभूति
अतिथिहरूलाई पिलाएर
बाघले आफ्नै बच्चा किन खान्छ ? को
प्रश्नोत्तरमा आँसुको भेल बगाउँदै
मानिस विराट बादल सरह उड्दै ....।
पहाड, पर्वत, खोलानाला
भीर पखेरा
कोइलीको कुहुकुहुसितै
दर्शनको सन्देश दिँदै अनायासै
अप्रत्याशित वन पहरा थर्काउँदै
चिच्यायौ तिमी करायौ तिमी
नमेटिने घात मुटुमा सिउरेर
अस्पतालको क्यानभास भित्रबाट
सानो संसार चियाउन मात्र सक्यौ
उकुसमुकुसिएको चित्कार तिम्रो
गुञ्जयमान हुन्छ शब्द र वाक्यभित्र
साहसी तिमी
महाराणा प्रतापको चेतक बन्दै
देशप्रतिको मोहमा
पृथ्वीराज चौहान बन्छौ तर
चेतक जस्तै अल्पायुमै घायल बनी
वनपरीकी वन कुसुमको
अञ्जुलिभरिको स्पर्शमा
स्वदेश फर्कन्छौ तिमी
दुश्यन्त र शकुन्तलाको भेट गराउन
र शान्तिको लामो सास फेराइसितै
आफ्नु आमाको न्यानो काखमा
निदाउँन पुग्छौ तिमी
आजीवन विचित्र रोदनसँगै
भविष्यको आँधीसित
आज तिम्रो शतजन्मोत्सवप्रति
यो युगका साँढेहरू
भौगोलिक भुलको ध्वनिहरूसित
गुन्जयमान हुँदैछन् शून्यमा
शून्यसरि ।
चन्द्रनिगाहपुर, रौतहट ।







Sundar Kabita Sathi!