रोहितको कप्तानीमा नेपाली टोली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । रोहित पौडेललाई कप्तान घोषणा गर्दै युएईविरुद्धको एकदिवसीय क्रिकेट शृंखलाका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व-कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला क्यानले भदौ अन्तिम साता निलम्बन गरेको थियो । त्यसपछि रिक्त रहेको कप्तान पदमा क्यानले रोहितलाई नियुक्त गरेको हो ।

२० वर्षीय रोहितले दुई महिनाअघि पनि नेपाली क्रिकेट टोलीको नेतृत्व गरिसक्नुभयो । त्यसबेला तत्कालीन कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइण्डिज गएपछि उहाँले नेपाली टोलीको नेतृत्व गर्नुभएको थियो । उहाँले नेतृत्व गरेको तीन खेलमा नेपालले जित हात पार्दै सिरिजमा क्लिनस्विप गरेको थियो ।

सन् २०१८ मा डिभिजन दुईमा रोहितले नामिबियाविरुद्धको खेलबाट नेपाली टोलीमा डेब्यु गर्नुभएको थियो । त्यसयता लगातार नेपाली टोलीबाट खेल्दै आउनुभएको छ । रोहितले नेपालबाट २५ खेलमा ओडिआई खेलमा एक शतक र पाँच अर्धशतकसहित कुल ८०८ रन बनाउनुभएको छ । त्यस्तै, रोहितले २१ टी-२० आई र ४० लिष्ट ‘ए’ खेल खेल्नुभएको छ ।

रोहितको कप्तानीमा नेपालले सोमबारबाट सुरु हुने युएईसँगको तीन ओडिआई खेलको सिरिजका लागि टोली घोषणा गरेको छ । नेपालले १६ सदस्यीय टोली घोषणा गर्दा कुशल भुर्तेल, स्पिनर ललितनारायण राजवंशी, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल र अर्जुन साउद टोलीमा हुनुहुन्छ । टोलीमा देव खनाल, बसिर अहमदले भने स्थान बनाउन सक्नुभएन ।

ADVERTISEMENT

घोषित नेपाली क्रिकेट टोलीमा रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा रहनुभएको छ ।

नेपालले कात्तिक २८ (नोभेम्बर १४) मा पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कात्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ । तेस्रो खेल मंसिर २ (नोभेम्बर १८) मा खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमणअघि युएईसँग सिरिज खेल्न लागेको हो । नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्याण्डबीच सिरिज हुनेछ । जुन सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ ।

प्रधानमन्त्री देउवाद्वारा बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवाले शनिबार सामाजिक सञ्जालमार्फत कप्तान पौडेललाई बधाई दिनुभएको हो । उहाँले कप्तान पौडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *