कराते प्रशिक्षक गुप्ता भन्नुहुन्छ, ‘सिक्न आउँछन्, भविष्य खोज्न अन्यत्रै लाग्छन्’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

पर्वत । कर्णाली प्रदेशका एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया नवौँ राष्ट्रिय खेलकुदबाट त्यति धेरै सन्तुष्ट हुनुहुन्न । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्णपदक जिते । पुरुष तीन हजार मिटर दौडमा दुर्गाबहादुर बुढाले आफ्नो प्रदेशका लागि स्वर्ण जित्नुभयो । बुढा पाँच हजार मिटर दौडमा सेकेण्डले मात्र स्वर्णबाट चुक्नुभयो ।

यस्तै पुरुष उसुतर्फ नान छ्वान अलराउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्णपदक जित्नुभयो । उहाँ १८ दशमलव ५४ स्कोर गर्दै च्याम्पियन बन्नुभयो । हमालले पुलिस क्लबका शनी श्रेष्ठलाई पछि पार्नुभएको थियो । प्रशिक्षक रोकायाले अझ धेरै स्वर्ण पदकको आश गर्नुभएको थियो । उहाँ खेलाडीभन्दा पनि बढी बेचैन भेटिनुभयो ।

मधेस-प्रदेशका सहायक कराते प्रशिक्षक राजेश गुप्ता भने आफ्ना खेलाडीबाट सन्तुष्ट हुनुहुन्छ । नवौँ राष्ट्रियमा उहाँले रजत पदकसम्मको आश गर्नुभएको थियो । तर एउटामात्र कास्यपदक प्राप्त भयो । पुरुष ६७ किलो तौल समूहमा मधेसका कृष्ण महतोले कास्य प्राप्त गर्न सफल हुनुभयो । महतो सिरहाबाट छनोट भएर नवौँ राष्ट्रिय खेल्न पर्वत आउनुभएको थियो । उहाँ प्रशिक्षक गुप्ताका उत्पादन हो । खासमा गुप्ता सिरहाका कराते प्रशिक्षक हुनुहुन्छ । उहाँ मधेस प्रदेशको कराते टोली ल्याएर कुस्मा आउनुभएको थियो ।

‘मधेस प्रदेशबाट २९ खेलाडी सहभागी भएका थिए’, प्रशिक्षक गुप्ताले भन्नुभयो, ‘एउटा खेलाडीमात्र पदक प्राप्त गर्न सफल भए, म सन्तुष्ट छु ।’ सहभागी खेलाडीमा पुरुष १६ र महिला १३ जना थिए । विभागीय टोलीको दबदबा रहेको नवौँ राष्ट्रिय मधेसमात्र होइन अन्य प्रदेशले पनि धेरै पदक जित्न सकेनन् । ‘मधेसका सबै जिल्लामा प्रशिक्षण छैन, केही ठाउँमा प्रशिक्षण दिने गरे पनि नियमित भने छैन, प्रशिक्षक गुप्ताले भन्नुभयो, ‘समग्रमा करातेमा प्रदेशको अवस्था कमजोर छ ।’

गुप्ताले देशका अरू धेरै सहायक प्रशिक्षक जस्तै २०५२ सालमा करार जागिर खानुभएको थियो । उहाँ २०६१ सालमा स्थायी हुनुभयो । उहाँ २७ वर्षदेखि सहायक प्रशिक्षकका रूपमा कराते खेलाडी उत्पादन गरिरहनुभएको छ । सिरहाको लहान नगरपालिका–७ घर हुनुभएका गुप्ताले २०४६ देखि कराते खेल्न थाल्नुभएको हो । त्यतिबेला उहाँ कक्षा १० मा पढ्नुहुन्थ्यो । उहाँले ६० किलो तौल समूहमा राष्ट्रिय, क्षेत्रीय र जिल्लास्तरीय प्रतियोगिता खेल्नुभयो । करार प्रशिक्षकमा कार्यरत छँदा पनि २०५७ सालसम्म गुप्ताले कराते प्रतियोगिता खेल्नुभएको थियो ।

ADVERTISEMENT

‘चप्पलमै खेले, जुत्ता किन्न पैसो थिएन,’ गुप्ताले विगत सुनाउनुभयो । उहाँले कराते सिकेको खेलको खुला मैदानमै हो । कभर्डहलको त कल्पना नै गर्न सकिन्नथ्यो । ‘अहिले लहानमा मात्र कभर्डहल छ, कराते अभ्यास गराउन पालो नै आउदैन’, उहाँले भन्नुभयो, ‘ब्याडमिन्टन खेल्नेको भीड हुन्छ, हामीभित्र पस्नै सक्दैनौँ ।’ यसपालि नवौँ राष्ट्रियमा सिरहाबाट मात्रै १७ कराते खेलाडी छनोट भए । छनोट हुनेमा सात महिला र १० पुरुष थिए । सिरहा वरपरका जिल्लाबाट न्यून संख्यामा खेलाडी छनोटमा परे । ती जिल्लामा प्रशिक्षक नभएर खेलाडी छनोट हुन सकेका भने होइनन् । ‘सप्तरी र सर्लाहीमा चार–चार, महोत्तरीमा तीन, धनुषा र बारामा दुई-दुई तथा पर्सामा एक प्रशिक्षक छन्’, गुप्ताले जानकारी दिनुभयो । रौतहटमा भने कराते प्रशिक्षक छैनन् ।

यसपालि नवौँ राष्ट्रियमा सप्तरीबाट दुई, धनुषाबाट एक, महोत्तरीबाट एक, सर्लाहीबाट चार, रौतहटबाट दुई तथा बारा र पर्साबाट एक–एक खेलाडी छानिएका थिए । गुप्ताले साँझ बिहान नियमित प्रशिक्षण गराउनुहुन्छ । उहाँलाई अर्की सहायक प्रशिक्षक दुर्गा धामीले साथ दिनुभएको छ । सिरहाको लहानमा दुई, मिर्चैयामा एउटा र गोलबजारमा दुईवटा कराते डोजो सञ्चालनमा छन् । ती सबै डोजोमा गरी झण्डै चार सय खेलाडी कराते सिक्दै आएको प्रशिक्षक गुप्ताले बताउनुभयो । ‘खेलाडी कराते सिक्न आउँछन् तर भविष्य खोज्न अन्यत्र लाग्छन्’, उहाँले भन्नुभयोे । गुप्ताले सिकाएका एक सयभन्दा बढी खेलाडी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत छन् । धेरैजसोले कराते खेल्नकै लागि विभागीय टोली रोजेका हुन् । त्यहाँ खेलेर आर्थिक रूपमा मजबुदका साथै पदोन्नति पनि हुन्छ । ‘प्रदेशमा खेलेर भविष्य बन्दैन भन्छन् र कराते सिकेर अन्यत्र लाग्छन्’, उहाँले भन्नुभयो, ‘भारतीय सेना र बेलायती सेनामासम्म मैले सिकाएका खेलाडी भर्ना भएका छन्, अन्यत्र गएर भविष्य बनाएकामा म धेरै खुशी छुँ ।’

गाउँमै खेलेर भविष्य बन्छ भन्ने सन्देश खेलाडीको परिवारमा नगएसम्म प्रदेशको पदक तालिकामा सुधार हुन नसक्ने गुप्ताको ठम्याइ छ । ‘राष्ट्रिय प्रतियोगितामा सहभागितासम्म मात्र सीमित बन्ने अवस्थाको अन्त्य चाँडै होला जस्तो छैन’, उहाँले भन्नुभयो, ‘खेलाडीको भविष्य सुनिश्चित गर्न पालिका, प्रदेश र संघीय सरकार जिम्मेवार बन्नै पर्छ ।’ मोफसलका खेलाडीलाई सधैँ आर्थिक अभावले पिरोल्छ । करातेमात्र होइन अन्य खेलमा पनि आकर्षित गर्नै सकिएको छैन । खेलमा लागे पढाइ बिग्रिन्छ भन्ने अभिभावकको बुझाइ छ । लामो समयसम्म खेलमा टिकाउन सहज छैन । खानपिनमा उत्तिक्कै ध्यान दिनुपर्छ । लगानी जुटाउन नसके बीचमै खेल छाड्नुपर्ने अवस्था छ ।

‘हामी कराते निःशुल्क सिकाउँछौँ, शुल्कको कुरा गरे खेलाडी खेल्नै आउँदैनन्’, प्रशिक्षक गुप्ताले भन्नुभयो, ‘न्यून शुल्कसमेत लिएका छैनौँ, अरू धेरै ठाउँमा शुल्कसमेत लिने गरेको सुनेका छौँ ।’ कोही प्रशिक्षकले अभ्यास गराएको नगराएको हेर्ने बुझ्न कोही नआउने उहाँले बताउनुभयो । अनुगमन नै नभएको १० वर्षभन्दा बढी भएको गुप्ताको भनाइ छ । ‘खेलाएको नखेलाएको हेर्न कोही पनि आउँदैनन्, अभ्यास गराए नि ठीक, नगराए नि ठीक जस्तै छ’, उहाँले भन्नुभयो । गुप्ता भने २७ वर्षदेखि कराते खेलाडी उत्पादनमै समर्पित छन् । रासस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?