माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दंग खेलाडी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

पोखरा । प्रकृतिको क्रीडाभूमि पोखरा शहरमा यतिबेला खेलकुदको कुम्भमेला चलिरहेको छ । झण्डै चार दशकपछि यहाँको खेलमैदानमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ खेलमध्ये १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेका छन् भने बाँकी २६ खेल पोखराका खेल मैदानमा भइरहेका छन् । ११ टोलीका छ हजार एक सय ५७ खेलाडीमा चार हजार ५०० बढी खेलाडी भने पोखराको खेल मैदानमा छन् ।

यतिबेला पोखराको मौसम पनि निकै स्वच्छ भएको छ । खुलेको आकाश र सेतो हिमशृंखलाले यहाँ आउने जोकोहीलाई मोहित पार्छ नै, त्यसमाथि पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण साक्षी राखेर खेलमैदानमा उत्रेका खेलाडी पनि उत्तिकै दंग देखिन्छन् । आइतबार क्रिकेट खेलका लागि तयार हुँदै गर्दा महिला क्रिकेट टोलीको मधेश प्रदेशकी क्याप्टेन कविता गौतम निकै उत्साहित देखिनुहुन्थ्यो । खेलमैदानबाट टलक्क टल्केको माछापुच्छ्रेतिर आँखा लगाउँदै उहाँले भन्नुभयो, ‘यहाँको स्वच्छ र सुन्दर वातावरणले बेग्लै मज्जा आउँछ, सुन्दर र स्वच्छ देखिएको हिमाल हेर्दै आनन्द लाग्ने, यस्ता दृश्यले खेलाडीलाई निकै ऊर्जा थप्छ,’ क्याप्टेन गौतमले करिब १० वर्षअघि पोखराको खेलमैदानबाट आफ्नो टोलीले स्वर्ण पदक जितेको अनुभवलाई ताजा बनाउँदै भन्नुभयो, ‘खेलाडीले जहाँ गए पनि खेल त खेल्ने हो तर पोखराको मैदानमा खेल्दाको अनुभूति बेग्लै र आनन्ददायक लाग्छ, यो सुन्दर शहर पोखराको विशेषता हो ।’

उहाँले अहिले पनि पोखराको खेलमैदानमा माछापुच्छ्रे साक्षी राखेर खेल्दा निकै उत्साह थपिएको बताउनुभयो । ‘खेलमा हारजितभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जोकोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ ।’

नेपाल महिला क्रिकेट टोलीकी क्याप्टेन रुविना क्षेत्रीले पनि पोखराको सुन्दरताले खेलाडीलाई बेग्लै ऊर्जा थप्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘माछापुच्छ्रे« र अन्नपूर्णको हिमशृंखलाको काखमा रहेको पोखरा रंगशालाको खेलमैदानमा खेल्दा क्रिकेट खेलाडीलाई निकै उत्साहित बनाउँछ, पोखराको सुन्दरता अनुपम छ ।’ उहाँले देशविदेशका विभिन्न खेलमैदानमा पुगेर खेल प्रदर्शन गरेको अनुभव भए पनि पोखराको सुन्दरताले गजबको ऊर्जा थप्ने अनुभव सुनाउनुभयो ।

ADVERTISEMENT

‘हिमालकै देशको खेलाडी भए पनि खुलेको हिमशृंखला देख्दा कहिल्यै मन थाक्दैन, हेरिरहूँ लाग्ने । यहाँ आएपछि मन आनन्दित हुन्छ र घुम्न निस्कँदा पनि विदेश गएको झल्को आउँछ,’ क्याप्टेन क्षेत्रीले भन्नुभयो, ‘माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमशृंखलालाई हेर्दै आत्मविश्वास जगाएर खेल्ने अवसर अरू ठाउँमा विरलै पाइन्छ तर पोखरा यस्तो शहर हो जहाँ आँखाअगाडि हिमाल हेर्दै खेल्ने अवसर पाइन्छ ।’ उहाँले तालतलैया, मिलेको बस्ती, हरियाली डाँडापाखा र सफा वातावरणले पनि खेलाडीलाई मोहित गर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले पोखरा शहरको सुन्दरता अवर्णित रहेको बताउनुभयो । ‘खेलाडीका लागि सबैभन्दा पहिला प्रफुल्ल मन र आत्मविश्वास आवश्यक पर्छ, पोखराको खेलमैदानमा उत्रेका सबै खेलाडीमा यो भाव देखिन्छ, पोखराको खेलमैदानले यो ऊर्जा खेलाडीमा जगाएको छ ।’ उहाँले भन्नुभयो, ‘पोखरालाई ‘स्पोर्ट्सको सिटी’ भनेर पनि चिनिन्छ । म पनि २०४० सालमा पोखराको मैदानमै खेलेको खेलाडी हुँ, यहाँका सुन्दर दृश्यले अन्तर्राष्ट्रिय खेलाडीलाई पनि उत्तिकै लोभ्याउँछ । स्वच्छ र सफा वातावरण सधँै खेलाडीको रोजाइ हुने गर्दछ, जुन पोखरामा छ ।’

मुख्य प्रशिक्षक टमटाका अनुसार अहिले दुईवटा विभागीयसहित नौवटा क्रिकेट टोली प्रतियोगितामा सहभागी छन् । खेलाडीका लागि राज्यले आर्थिक पाटो सवलीकरण हुने वातावरण सिर्जना गर्नसके यस क्षेत्रमा महिला र पुरुष दुवै खेलाडीको संख्या बढ्ने देखिन्छ ।
पोखरामा भइरहेको राष्ट्रिय खेलमा म्याग्दी जिल्लाबाट सहभागिता जनाउनुभएका तेक्वान्दो खेलाडी राजकुमार परियारले पनि पोखराको सुन्दर वातावरणमा आफ्नो खेल प्रदर्शन गर्न निकै आतुर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘होम ग्राउण्डमा खेल्दा यसै पनि आनन्द लाग्छ, दर्शकको अपार माया र साथले बलियो प्रतिस्पर्धीलाई पनि जित्न सकिन्छ भन्ने लाग्दोरहेछ, साथसाथै आफ्नै प्रदेश भएकाले पनि हावापानी मिल्दा पनि फूर्तिलो बनाएको अनुभव भएको छ ।’ खेलाडी परियारले खेलाडीका लागि पोखराको हावापानी र सुन्दरताले थप ऊर्जा थप्ने बताउनुभयो ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले सयौैँचोटि पोखरा आउँदा पनि आफू कहिल्यै नथाक्ने शहरमा अहिले खेलाडीका साथ रहन पाउँदा निकै खुसी लागेको बताउनुभयो । ‘अहिले दुई सय तीन पौडी खेलका विभिन्न इभेन्टका खेलाडी पोखरामा छन्, त्यति नै मात्रामा खोलाडीका आफन्त पनि सहभागी छन् । पोखराको सुन्दरताले खेलाडी निकै उत्साहित छन्,’ उहाँले भन्नुभयो, ‘खुलेको आकाश र टल्केको माछापुच्छ्रे«को आँगनमा आफ्नो खेलको क्षमता प्रदर्शन गर्दा खेलाडी निकै खुसी भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?