आइटिएफ तेक्वान्दोको प्रतियोगिता बागलुङमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हँुदैछ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लामा आयोजना गरिएको सो प्रतियोगिताअन्तर्गत आइटिएफ खेलको प्रतिस्पर्धा बागलुङमा गर्न थालिएको छ ।

यही असोज २८ र २९ गते बागलुङ बजारको बांगेचौर खेलमैदानस्थित कभर्डहलमा आयोजना गर्न थालिएको नवौं राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारीलाई तीव्र बनाइएको आइटिएफका केन्द्रीय सचिव तथा बागलुङ नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

‘राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा पहिलोपटक हुँदैछ, त्यसमध्ये बागलुङे खेलाडीको रोजाइ रहेको आइटिएफ खेल जिल्लामा हुँदैछ, हामीले प्रतियोगिताको तयारी तीव्र बनाएका छौं,’ उहाँले भन्नुभयो, ‘स्थानीय पालिका बागलुङ नगरपालिकाले स्थानीय व्यवस्थापनमा आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्दैछौं, प्रतियोगिताका लागि ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।’

उहाँका अनुसार बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिले प्रतियोगितामा आएको खेलाडीको व्यवस्थापन गर्ने र उद्घाटन सत्रलाई भव्य बनाउने तयारी गरेको छ । आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

ADVERTISEMENT

प्रतियोगितामा २१ स्वर्ण, २१ रजत र ५६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा ४५ रेफ्री सहभागी हुनेछन् । खेलको खर्च नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले बेहोर्नेछ भने स्थानीय व्यवस्थापनको खर्च बागलुङ नगरपालिकाले गर्ने बागलुङ नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । बागलुङका लागि राष्ट्रिय प्रतियोगिता गर्ने सौभाग्य प्राप्त भएको जनाउँदै तयारीमा जुटेको उहाँले बताउनुभयो ।

खेलको मुख्य समारोह यही असोज २९ गते बागलुङको कला, संस्कृति झल्काउने झाँकी, बाजागाजा र कला संस्कृतिसहितको हुनेछ । प्रतियोगिताका लागि बागलुङस्थित बांगेचौर खेलमैदानसहित रहेको कभर्डहल मर्मत गरिएको र बाहिरको प्रांगणलाई सुधार गरिएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । जिल्लामा आइटिएफमा सर्वाधिक बढी खेलाडी हुनु र राष्ट्रिय प्रतियोगितासमेत बागलुङमा आयोजना हुने भएकाले खेलाडी वर्गमा उत्साह छाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा बागलुङले ८५ पदक प्राप्त गरेको थियो ।

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालनमा आउने सो प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा बागलुङले ४४ स्वर्ण, २२ रजत र १९ कास्य पदक प्राप्त गर्न सफल भएको हो । जिल्लाले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा सबैभन्दा बढी पदक प्राप्त गरेको छ । सो प्रतियोगितामा १७ स्वर्ण, दुई रजत र दुई कास्य पदक प्राप्त गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *