नवौं राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुंगोे लागेन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 17 mins

कास्की । गण्डकी प्रदेशमा दोस्रोपटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ । प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्मको नवौंअन्तर्गतका खेल खेलाउने योजना यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को थियो । सबै जिल्लालाई राष्ट्रिय खेलकुदको अपनत्वका लागि प्रत्येक जिल्लामा कम्तीमा एक खेल खेलाउने योजना रहे पनि खेल पूर्वाधार अभावका कारण सबै जिल्लामा खेलाउन सम्भव देखिएको छैन ।

राखेपले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताअन्तर्गतका सबै खेलका खेलस्थल टुंगो लगाउने जनाएको थियो । प्रतियोगिताको मिति नजिकिँदै जाँदासमेत प्रतियोगितास्थल तय नहुँदा खेलाडी, प्रशिक्षक तथा खेल संघ अन्योलता छ । कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले प्रतियोगिताका लागि तयारी सुरु गरे पनि खेलस्थलको टुंगो नलाग्दा अन्योल बनाएको बताउनुभयो । आफ्नै तरिकाले हरेक दिन साँझ पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा अभ्यास गरिए पनि प्रतियोगिता कहाँ हुन्छ भन्ने चिन्ता रहेकाले छिटो यकिन गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चार/पाँच महिना पहिला फेन्सिङ खेल पर्वतमा गर्ने भन्ने थियो, ठूलो हलका लागि पार्टी प्यालेससम्म खोजी भयो, पछि पोखराबाहिर अन्यत्र सम्भव छैन भन्ने आयो तर अझैसम्म पनि कहाँ खेल हुन्छ भन्ने निधो नहुँदा अन्योल बनाएको छ ।’ राखेपले प्रतियोगिता तयारीका लागि खेलस्थल व्यवस्थापन उपसमिति गठन गरेको छ । सो समितिले एक महिनाअघिदेखि प्रदेशका अधिकांश जिल्ला पुगेर खेल पूर्वाधारको निरीक्षण गरेको थियो । समितिले निर्धारित समयअगावै खेलस्थलको सिफारिस गरी राखेपमा पठाइसकिएको जनाएको छ ।

प्रतियोगिताको खेलस्थल टुंगो लागेपछि मात्र सोको स्तरोन्नति, साजसजावट, मर्मतसम्भारलगायतका काम गर्नुपर्ने हुन्छ । कतिपय पूर्वाधारका लागि मर्मतसम्भारका काम बाँकी छन् भने अन्यमा पनि सानोतिनो मर्मतका काम गर्नुपर्ने हुन्छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको तयारीका लागि गठन गरेको खेलस्थल व्यवस्थापन समितिले ३६ वटै खेलको खेलस्थल यकिन गरी राखेप सचिवालयमा पठाइसकिएको जनाएको छ । एक/दुई दिनभित्रमै सबै खेलको आयोजनास्थल सार्वजनिक गरिने खेलस्थल व्यवस्थापन उपसमितिका सचिव कृष्ण तिमिल्सिनाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले भदौ १३ गते नै ३६ वटै खेलस्थल निश्चित गरेर पठाइसकेका थियौं, केन्द्रबाट रोकिएको अवस्था हो, अब केही दिनमै सार्वजनिक गर्ने तयारी छ, कतिपय ठाउँमा पूर्वाधारको स्तरोन्नतिको काम पनि सुरु भएको, खेलस्थल छिट्टै घोषणा गर्छाैं ।’
प्रतियोगिताका अधिकांश ‘इन्डोर’ र ‘आउटडोर’ खेल पोखरामा केन्द्रित हुने भएपछि इन्डोर खेलका लागि समय मिलाउनुपर्ने हुन्छ । धेरै खेल पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुनेछन् । कभर्डहलमा पनि बत्ती, उकरण जडान, शौचालयलगायत मर्मतका काम अहिलेदेखि नै सुरु गर्नुपर्ने हुन्छ । खेलस्थल निश्चित नहुँदा तयारीका काममा समेत ढिलाइ भएको छ ।

समितिले भने पूर्वाधार भएकै ठाउँमा मात्र सिफारिस गरिएकाले नयाँ पूर्वाधार निर्माणको आवश्यकता नरहेको र कतिपयमा मर्मतसम्भारको काम गर्नुपर्ने रहेको जनाइएको छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल खेलाउने गरी यसअघि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सिफारिस गरे पनि मनाङ, मुस्ताङ, लमजुङ र तनहुँमा खेल सञ्चालन नहुने भएको छ ।

ती जिल्लामा खेलकुद पूर्वाधार नभएको र मनाङ, मुस्ताङमा चिसो हुने भएकाले प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने बताइए पनि अन्तिम निर्णय हुन बाँकी छ । लमजुङमा कराँते, तनहुँमा महिला तथा पुरुषको बास्केटबल, मनाङमा बुद्धिचाल र टेबलटेनिस मुस्ताङमा खेलाउने योजना थियो ।

पूर्वाधारकै समस्या
देशका अन्य प्रदेशको तुलनामा गण्डकीलाई खेलकुद पूर्वाधारका लागि राम्रो मानिन्छ । पोखरा रंगशालाभित्र धेरै खेलका पूर्वाधार रहेकाले यसलाई ‘स्पोटर््स कम्प्लेक्स’ समेत भन्ने गरिएको छ । नवौंअन्तर्गतका कतिपय खेल पूर्वाधार यहाँ नहुँदा राजधानी काठमाडौं लैजानुपर्ने बाध्यता छ ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट अहिले राजधानी काठमाडौंमा जारी छ । नेपाल क्रिकेट संघले आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म पहिलो संस्करणको ‘नेपाल टी-२० लिग’ आयोजना गरेपछि राष्ट्रिय खेलकुदको एक महिनाअगावै क्रिकेट सुरु भएको हो । विसं २०४० मा गण्डकीमा पहिलोपटक राष्ट्रिय खेलकुद हुँदासमेत क्रिकेट पोखरामै आयोजना गरिएको थियो तर अहिले पूर्वाधार नभएकै कारण प्रतियोगिता काठमाडौंमा गर्नुपर्ने बाध्यता छ ।

क्रिकेटका लागि पोखरामा अभ्यासस्थल भए पनि दुई ‘म्याच ग्राउण्ड’ को अभावकै कारण बाहिर गर्नुपर्ने बाध्यता भएको बताइन्छ । पोखरा रंगशालाभित्र प्रतियोगिता सञ्चालनका लागि एकमात्र क्रिकेट मैदान भए पनि अर्को वैकिल्पक मैदान छैन ।

बर्सेनि बजेट छुट्टिन्छ, काम हुँदैन
पोखरामा नवौंका लागि भनेर क्रिकेट मैदान, स्विमिङ पुल र सुटिङका लागि सरकारबाट बजेट विनियोजन नभएको पनि होइन । बर्सेनि ती शीर्षकमा बजेट छुट्टिन्छ तर कार्यान्वयन नहुँदा फ्रिज हुने गरेको छ । पोखरा रंगशालाभित्र पौडी पोखरी, सुटिङ र क्रिकेटका लागि पूर्वाधार बनाउन जमिनसमेत व्यवस्था गरिएको छ तर कार्यान्वयनको चरणमा जान सकेन । बजेट व्यवस्था हुँदासमेत काम नहुनुमा खेल संघ तथा खेल पदाधिकारीसमेत जिम्मेवार रहेको बताइन्छ ।

ADVERTISEMENT

सरकारले बजेट विनियोजन गरेपछि सम्बन्धित खेल संघले कामलाई अघि बढाउन अग्रसरता लिनुपर्ने पोखराका अग्रज खेलपत्रकार सुदर्शन रञ्जित बताउनुहुन्छ । नवौंका लागि भनेर अहिलेसम्म पोखरामा कुनै पनि खेल पूर्वाधार थप नभएको जनाउँदै उहाँले खेल पूर्वाधारको बजेट बर्सेनि फिर्ता जानु चिन्ताजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरामा तय भएका खेल पूर्वाधार नभएकै कारण बाहिर जानुले खेलकुदलाई माया गर्नेलाई चिन्तित बनाएको छ । बजेट विनियोजित भएका खेलका समेत पूर्वाधार नबन्नुमा सरकारलाई मात्र दोष दिएर हुँदैन, खेल संघ र खेलकुद पदाधिकारीले जिम्मेवारी लिनुपर्दछ, विनियोजित बजेटबाट काम सुरु नै नगरीकन कसरी थप बजेट आउँछ ?’
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, प्रदेश खेलकुद परिषद्लगायतका खेलकुदका सरकारी निकायले पनि अग्रसरता लिनुपर्ने खेलकर्मीको भनाइ छ । नवौंमा पूर्वाधार नभएकाले सुटिङ खेल राजधानीमा खेलाउने तयारी गरिएको छ । यसैगरी स्विमिङ भने पोखराकै होटलमा सञ्चालनको योजना छ ।

आठौं राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा पूर्वाधार नभएका खेल काठमाडौंमा खेलाउने योजना रहे पनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन् । ‘राष्ट्रिय खेलकुदका लागि मुख्य गरी स्विमिङ र सुटिङको पूर्वाधार हामीसँग छैन, पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने अन्योल भए पनि यसलाई हामी व्यवस्थापन गर्छौं,’ खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले भन्नुभयो ।

स्विमिङलगायतका खेल पूर्वाधार निर्माणका लागि यसअघि समय रहे पनि आवश्यक बजेटको सुनिश्चितता नहुँदा काम सुरु नभएको प्रदेश खेलकुद विकास समितिले जनाएको छ । पोखरा रंगशालाभित्र स्विमिङ र सुटिङका लागि यसअघिका दुई आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिए पनि सो पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा बोलपत्र आहृवानलगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।

‘हिटिङ स्विमिङ पुल’ को निर्माण गर्न ३५ करोड रुपैयाँ हाराहारीमा लागत अनुमान तयार गरिएको छ । यसका लागि सरकारले अघिल्लो वर्ष पाँच करोड रुपैयाँ छुट्टाएको थियो । योगीले भन्नुभयो, ‘विनियोजित बजेट अपर्याप्त रहृयो र थप स्रोतको सुनिश्चितता नहुँदा बोलपत्र आहृवानलगायतका काम अघि बढाउन सकिएन ।’

खेल सामग्रीको अभाव
नवौंका लागि जिल्लास्तरीय छनोटबाट प्रदेश प्रतियोगिताका लागि खेलाडी छनोट भए । गण्डकी प्रदेश खेलकुद परिषद्ले यही भदौ १६ देखि १८ गतेसम्म प्रादेशिक खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडी छनोट गरेको छ ।

यद्यपि अझै पनि प्याराग्लाइडिङ, ट्रायथलनलगायतका खेलका खेलाडी छनोट बाँकी छ । राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको समय तालिकाअनुसार भदौ २५ भित्रमा सम्बन्धित टोलीले खेलाडी दर्ता गर्नुपर्ने हुन्छ तर गण्डकीमा अझै खेलाडी छनोट बाँकी छ । प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगितामा समेत खेलाडी आधारभूत खेल सामग्रीबाट नै वञ्चित हुनुपर्ने अवस्था आएको थियो । हृयाण्डबललगायतका केही खेलको प्रतिस्पर्धामा एउटै टिमका खेलाडीसमेत फरक÷फरक रङको जर्सी लगाएर मैदानमा उत्रिनुपर्ने बाध्यतामा थिए ।

हृयाण्डबलका खेलाडी विशाल नेपालीले खेलाडीलाई आधारभूतस्तरको पनि खेल सामग्री नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रादेशिक छनोटजस्तो महत्वपूर्ण खेल खेल्दासमेत एउटा जर्सी पनि पाइएन, पुरानो लगाएर खेल्न बाध्य बन्यौं, यसरी हाम्रो मनोबल कसरी बढ्छ ?’ खेल सामग्री अभावकै कारण एथलेटिक्सका छ इभेन्टको भने प्रतिस्पर्धा भएन । सुटिङमा समेत प्रतियोगिताबिना नै खेलाडी छनोट गरिएको छ ।

आवश्यक सामानको अभाव हँुदा एथलेटिक्सको ‘हर्डल्स’ तर्फको प्रतिस्पर्धाबिनै खेलाडी छनोट गर्नुपरेको एथलेटिक्स संघका केन्द्रीय सदस्य एवं प्रशिक्षक गज गुरुङले बताउनुभयो । उहाँका अनुसार सुरुवातमा सीमित खेलाडी कोटाका कारण समस्या आए पनि त्यसलाई समाधान गरिएको छ । नवौंका लागि एथलेटिक्सका पुरुष २० र महिला १८ खेलाडी छनोट भएका छन् । उहाँले भन्नुभयो, ‘खेल सामग्री अभावमै पूरै इभेन्ट गर्न पनि सकिएन, म्याराथनको इभेन्टसमेत खेल सामग्री नभएकाले म्याराथन १० किमी हेरेर खेलाडी छान्नुपर्ने अवस्था आयो ।’
फेन्सिङका लागि पनि खेल सामग्री अभाव छ । फेन्सिङ ठूलो हलमा खेलिन्छ । यसमा इलेक्ट्रिक स्कोरिङ हुने भएकाले खेल अवधिभर ठूलो बत्तीको प्रबन्ध हुनुपर्दछ तर अहिले अभ्यास गरेको हलमा बत्तीको समेत प्रबन्ध नभएको फेन्सिङ संघका अध्यक्ष शाहीको गुनासो छ । उहाँका अनुसार फेन्सिङको खेल सामग्री नेपालमा पाइँदैन । विदेशबाट मगाउनुपर्ने हुन्छ तर अहिलेसम्म बजेट उपलब्ध नभएको शाहीले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अभ्यासका लागि हलबाहेक अहिले हामीले सुविधाका नाममा केही पनि पाएका छैनौं, खेलाडी खेल्दै गर्दा घाइते हुँदासमेत रंगशालाभित्र प्राथमिक उपचार नपाउने अवस्था छ, आधारभूत आवश्यकताका लागि एकजना खेलाडीलाई ३० हजारको खेल सामग्री चाहिन्छ, फेन्सिङका सामग्री नेपालमा किन्न पनि पाइँदैन ।’

विगतमा ठूला प्रतियोगिता हुँदा राखेपले विदेशबाट किनेर ल्याएर खेल संघलाई दिने गरे पनि अहिले प्राप्त भएको छैन । तरबार (सोड), इलेक्ट्रिक डिभाइस जडित ज्याकेट, पञ्जा, हेलमेट, चेस प्रोटेक्टरलगायतका खेल सामग्रीका लागि सात लाख बजेट माग गरिए पनि ६० हजार रुपैयाँमात्र उपलब्ध हुने जवाफ पाएपछि निराश बन्नुपरेको शाहीले गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?