पुस्तक : मृत्युलाई जित्ने अभिप्रायमा लेखिएको कृति ‘साढे ३ हत्या’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

✍️ गीता अधिकारी

झट्ट नाम सुन्दा कुनै सनसनीपूर्ण, हत्या, हिंसामा आधारित उपन्यास जास्तो लाग्ने ‘साढे ३ हत्या’ पाठकमाझ छ । यो कृति पाठकमाझ आएको केही समय भएको छ भने पाठकवृत्तमा यसको लेखनशैलीलाई लिएर राम्रो चर्चा परिचर्चा हुने गर्दछ । हत्या भन्ने बित्तिकै मारकाटसम्बन्धी कुरा हाम्रो दिमागमा आउने भए पनि यो कृति वास्तवमा कुनै जीवको हत्या नभएर हार्ने सोचको हत्यालाई लिएर लेखिएको छ । विविध क्षेत्रमा कलम चलाउने युवा स्रष्टा रूपक अधिकारी उपन्यासकारका रूपमा यो कृतिमार्फत उदाएका छन् । उनको पहिलो उपन्यास हो ‘साढे ३ हत्या’ ।

१९० पृष्ठको यो कृति कृतिकार अधिकारीको पहिलो कृति जस्तो लाग्दैन । एडिबी पब्लिकेसन प्रा.लि.प्रकाशक रहेको यो कृतिको वितरकमा बुलबुल पब्लिकेसन प्रा.लि.रहेको छ । रसिक राजको आवारण चित्र र मनोज केसी ‘समय’ को आवारण डिजाइनले पाठकलाई आर्कषित गर्दछ । रियल डिजाइन पोखराको लेआट डिजाइन रहेको कृतिको मूल्य २४० रुपैयाँ राखिएको छ ।

उपन्यासकार अधिकारीले युवावस्थाका नकारात्मक र सकारात्मक दुवै पक्ष खोतल्दै जीवन मर्न नभई बाँचेर केही गर्न पाइएको निष्कर्षसहितको सन्देश यस कृतिमार्फत् व्यक्त गरेका छन् । किताबको सुरुवातमै लेखिएको छ, ‘हामीले हार सोच्नुमात्र पनि हाम्रो हार नै हो, यो मृत्यु जित्न लेखिएको हो ।’

कृतिकार अधिकारीले यसमा ‘जेबीआर’, ‘अघिल्लो दिन’, ‘इच्छापत्र’, ‘आद्रता’, ‘आधा पर्व’, ‘कस्तुरी र यात्रा’, ‘आधा पर्वको अन्त्य’, ‘रुस्लान र म’ जस्ता खण्डका शीर्षकमा कृतिलाई विस्तृत रूपमा प्रस्तुत गरेका छन् । कृतिका पात्र र घटनाक्रम बनावटी नभएर हाम्रै वरिपरि, हाम्रै परिवेश, हाम्रै भोगाइ, सुनाइ र देखाइका लाग्छ । कृति पढ्दै जाँदा पाठकले आफूलाई यसमा कही न कही, कुनै न कुनै रूपमा पाउने गर्दछन् । पढ्दै गर्दा द्विविधा आएपनि पछि हाम्रै परिवेश, हाम्रै जिन्दगी, हाम्रै भोगाइ पढेको महसुस हुन्छ । लेखकले यस कृतिमार्फत जिन्दगीको सुन्दरतालाई प्रष्ट्याएका छन् ।

ADVERTISEMENT

‘सत्र वर्षको उमेरसम्म पनि सत्र पाना भर्न नसकेकी कस्तुरी जीवनका हरेक पाना रङहरू भर्न सफल बनी । हजारौं पाप एकातर्फ उभिएर पुण्यसँग लडिरहँदा प्रेमले मात्र विजयी हुन पाउँछ भनेर मौन रूपमा आफ्नो मुस्कानसहित पस्कने खुशी हाम्रो जयमा मात्र छ । भोलिको दिनमा लेखिने कथाको ज्युँदो पात्र हो जय । म भाग्यशाली रहेछु कि जयको छायामा फुल्ने अवसर पाएकी छु । सोलु आइसकेपछि गाडीबाट ओर्लने मन नै थिएन । लाग्दै थियो अझै गुडिरहूँ । जयसँग नबोलेरै ऊसँगै प्रेम गरिरहूँ, बिलकुल रुस्लानले जस्तै ।’ उपन्यासको एक अशंमा पात्रको मौन सम्वादलाई यसरी व्यक्त गरेका छन् कृतिकार अधिकारीले ।

रोचक र कौतुहलताले बाँधेर राख्दछ कृतिले पाठकलाई । पढ्न सुरु गरेपछि नसकिँदासम्म छोड्न मन लाग्दैन । यो कृतिकारको विशेष खुबी हो भन्ने लाग्दछ । कृतिमा युवा अवस्थामा पुग्दै गरेका युवाहरू कसरी अनेक बाटो हुँदै ग्रुजिएका हुन्छन् भन्ने कुरा पनि यस कृतिमा यसरी व्यक्त गरिएको छ– ‘ऊसँगको मेरो सम्बन्धमा कुनै हद नै थिएन । मेरो पहिलो पिम्पल फुटाउनेदेखि पहिलो रक्तस्रावको साक्षी ऊ नै थियो । मैले जीवनमा पहिलो अन्तिम अश्लील भिडियो उसका बाबाको ल्यापटमा कक्षा आठको जिल्ला स्तरीय परीक्षापछिको बिदामा हेरेकी थिएँ ।’
यस्तै भनिएको छ, ‘समय बित्दै जाँदा हाम्रो प्रेममा पर्वतले अश्लील चलचित्रमा झैं मलाई प्रयोग गर्ने इच्छा देखायो । त्यति बेला कक्षा नौमा अध्ययनरत थियौँ । भर्खरै दशैँ बिदा भएको थियो । म निकै डराएकी थिएँ । त्यसपछि कति दिनसम्म म पर्वतबाट टाढा टाढा नै भएँ ।’ विषयवस्तुको प्रस्तुति निक्कै माझिएको छ । युवाका विषयमा फरक प्रस्तुतिका साथ अधिकारी यो कृतिमार्फत उदाएका छन् । पढ्दै जाँदा कृतिले जीवनका लागि गज्जबको सन्देश दिन्छ ।

उपन्यासकार अधिकारीले युवावस्थाका नकारात्मक र सकारात्मक दुवै पक्ष खोतल्दै जीवन मर्न नभई बाँचेर केही गर्न पाइएको निष्कर्षसहितको सन्देश यस कृतिमार्फत व्यक्त गरेका छन् । किताबको सुरुवातमै लेखिएको छ, ‘हामीले हार सोच्नुमात्र पनि हाम्रो हार नै हो, यो मृत्यु जित्न लेखिएको हो ।’ साढे ३ हत्याले प्रेम बोल्छ । फेरि के हो भने जहाँ जिन्दगी लेखिन्छ त्यहाँ प्रेम हुन्छ नै । कृतिमा मुख्य विषय प्रेम नभएर जीवन लेखेका छन् कृतिकारले । हामी यति कमजोर छौँ साना कुरामा आत्महत्या जस्तो दरिद्र कदम अघि बढाउँछौं । साढे ३ हत्याले यही कुरा बताउन खोजेको छ । कसरी एउटा आत्महत्याको निर्णय गरिसकेको जय अन्त्यमा जिन्दगी रोज्न पुग्छ ।

आफ्नो विगतमा हर कुरा नराम्रो मात्र भइरहेको छ भन्ने सोच्दै गर्दा त्यहीँ एउटा आशाको किरण पनि भेटिन्छ है भनेर बुझाउने प्रयास यस कृतिले गरेको छ । ‘साढे ३ हत्या’ लाई पुस्तकभन्दा पनि जीवन भन्नु ठीक हो भन्ने लाग्छ । अधिकारीले यस कृतिमार्फत अधिकांश युवा वर्गको कथा उठाउन सफल भएका छन् । उनले अधिकांश युवाको साझा व्यथालाई यहाँ उजागर गरेका छन् । हार सोच्नु भनेको हार हो, जिन्दगी हारका लागि होइन तिमी जित्न अघि बढ हर कदममा तिमी सफल हुने छौ र सफल नहुँदासम्म आफ्ना कदमलाई नरोक अघि बढ तिम्रो जित निश्चित छ भन्ने सन्देश कृतिकारले यस कृतिमार्फत व्यक्त गर्न खोजेका छन् ।

युवा स्रष्टाका रूपमा नेपाली साहित्य क्षितिजमा उदाएका अधिकारी साहित्यका विविध क्षेत्रमा कलम चलाउने गर्छन् । उनले चाँडै नै अर्को उपन्यास पाठकमाझ ल्याउने तयारी गरेको पनि जानकारी गराएका छन् । साहित्य क्षेत्रमा उनको लगाव अझ विस्तृत हुँदै जाओस् भन्ने कामना गर्दछु । आगामी दिनमा यस्तै यस्तै अन्य कृति प्रकाशन हुँदै जाऊन् गीता कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. ‘हामीले हार सोच्नुमात्र पनि हाम्रो हार नै हो, यो मृत्यु जित्न लेखिएको हो ।’

रिलेटेड न्युज

छुटाउनुभयो कि ?