काठमाडौं । एक खेल अगावै नेपालले केन्याविरुद्धकोे एकदिवसिय खेलको सिरिज जितेको छ । नेपालले दोस्रो अभ्यास खेलमा शनिबार घरेलु टोली केन्यालाई १७ रनले हराउँदै तीन एकदिवसिय अभ्यास खेलको सिरिजमा २-० ले आफ्नो पक्षमा पारेको हो ।
जितको लागि २३१ रनको विजयी लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१३ रनमा अल आउट भयो । केन्याका रकिप पटेलले ९८ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ८१ रन बनाउनुभयो । यस्तै कोलिन्स ओबुयाले ३७ तथा नेल्सन ओधियाम्बोले २८ रन थप्नुभयो । त्यसबाहेक गेरार्ड मुथुईले २० रन बनाउनुभयो ।
सोमपाल कामीले पहिलो बलमै सुखदीप सिंहलाई बोल्ड गर्नुभएको थियो । सोमपालले नै सातौैं ओभरको अन्तिम बलमा नेल्सनलाई २८ रनमा एलबीडब्लु आउट गरेपछि नेपालले राम्रो सुरुवात पाएको थियो । यस्तै विकेटकिपर इफरान करिमलाई करण केसीले आठ रनमा साहब आलमबाट क्याच गराउनुभयो ।
सोमपालले नै सचिन भुडियालाई शून्यमा क्याच गराएपछि केन्या ८.२ ओभरमा ३९-४ को स्थितिमा पुग्यो । पाँचौं विकेटका लागि रकिप र कोलिन्स ओबुयाले ८१ रनको साझेदारी गरेपछि नेपाललाई केही अप्ठारो परेको थियो ।
नेपालका सोमपाल कामीले आठ ओभरमा दुई मेडनसहित ४० रन खर्चेर तीन विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले ५.३ ओभरमा एक मेडनसहित १२ रन खर्चेर चार विकेट हात पार्नुभयो । त्यसबाहेक करण केसी, आदिल अन्सारी र पवन सरार्फले एक÷एक विकेट लिनुभएको थियो ।
त्यसअघि नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा २३० रन बनाएको थियो । नेपालका रोहित पौडेलले ९५ बलमा सात चौकासहित सर्वाधिक ७८ रनको इनिङ खेल्नुभयो ।
नेपालको सुरुवात भने त्यति राम्रो रहेन । पहिलो विकेटका लागि ओपनर देव खनाल र अर्जुन साउदले ५.५ ओभरमा १९ रनको साझेदारी गर्नुभयो । अर्जुन १६ बलमा पाँच रन बनाउँदै आउट हुनुभएको थियो । दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लले ३७ बलमा चार चौकासहित २५ रन जोड्नुभयो ।
देव खनाल ३७ रनमा क्याच आउट हुनुभयो । देवले ५५ बलमा चार चौका प्रहार गर्नुभयो । दीपेन्द्रसिंह ऐरी दुई, बसिर अहमद १७ र पवन सरार्फ दुई, आदिल अन्सारी १४ र सोमपाल कामी १५ बलमा दुई चौका र एक छक्कासहित २६ रनमा आउट हुनुभएको थियो ।
केन्याका कप्तान शेम न्गोचेले १० ओभरमा ३४ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै विरज पटेल १० ओभरमा एक मेडनसहित ३२ रन खर्चेर दुई विकेट हात पार्नुभयो । तीन एकदिवसिय अभ्यास सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।
केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले यसअघि पाँच शृंखलाको टी-२० प्रतिस्पर्धामा केन्यालाई तीन-दुईले जितेको थियो ।






