पूर्वाधार अभावबीच खेलाडीलाई प्रशिक्षण गराइँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

बनेपा । आगामी असोजमा कास्कीको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि काभ्रेपलाञ्चोकका खेलाडी अभ्यासमा जुटेका छन् । भर्खरै जिल्लास्तरीय छनोट सम्पन्न भएको छ । विभिन्न खेलका खेलाडी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् । बागमती प्रदेशमा उत्कृष्ट हुने खेलाडीले नवौं राष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछन् ।

जिल्लाबाट विभिन्न विधामा प्रदेशमा छनोट हुँदाको सकस खेलाडी र प्रशिक्षकलाई खपिनसक्नुको छ । खेल सामग्री र पूर्वाधार अभावमा खेलाडी र प्रशिक्षकले धेरै हण्डर खाए । खुलाचौरमा घामपानी नभनीकन उनीहरूले अभ्यास गरे । ‘विभिन्न समस्याबीच प्रदेशका लागि खेलाडी छनोट गर्‍यौं,’ काभ्रेपलाञ्चोक तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दो प्रशिक्षक राजमन्दिर श्रेष्ठले भन्नुभयो । उहाँले पाँच वर्षदेखि खेलाडी उत्पादन गर्दै आउनुभएको छ ।

सुरुवातमा बनेपा नगरपालिका-५ भीमसेनस्थानस्थित एभरेष्ट एकेडेमी परिसरबाट प्रशिक्षण थाल्नुभएका श्रेष्ठले अहिले पनि निरन्तरता दिँदै आउनुभएको छ । ‘करिब एक सय प्रशिक्षार्थीलाई खेल प्रशिक्षणसँगै हाइकिङ गराएर आकर्षित गराउँदै आएको छु,’ उहाँले भन्नुभयो । खेल मैदान अभावले प्रशिक्षार्थीलाई चाहेअनुसारले खेलाउन नपाएको बताउनुहुन्छ । ‘सबैभन्दा ठूलो समस्या खेल मैदानको छ,’ उहाँले भन्नुभयो, ‘बनेपा नगरभरिमा नै व्यवस्थित खेलमैदान छैन, त्यस्तो समस्याको बाबजुद पनि अभ्यास गरायौं ।’ विद्यालयको प्रांगण मागेर तथा पार्टी प्यालेस प्रयोग गरेर अभ्यास गराएको श्रेष्ठ बताउनुहुन्छ ।

नगरपालिका र वडासँग खेलमैदानका लागि सहयोग माग्दै आएको उहाँले बताउनुभयो । कुनै व्यक्तिले दान गरेका खण्डमा खेलमैदानका लागि सहयोग गर्न सकिने प्रतिक्रिया दिएको श्रेष्ठले बताउनुभयो । ‘अहिले आफ्नै जग्गामा टहरा बनाएर खेलाडीलाई प्रशिक्षण दिँदै छु,’ उहाँले भन्नुभयो । जिल्लाका विभिन्न स्थानमा शाखा सञ्चालन गरेर श्रेष्ठले करिब पाँच सय तेक्वान्दो खेलाडी उत्पादन गर्नुभएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा करिब सात वर्षदेखि नेपाल क्योकुशिन कराँते डो संघ बज्र शाखा सञ्चालन गरेर प्रशिक्षण दिँदै आउनुभएका दिल दोर्जे लामा पनि बिनापूर्वाधार र सामग्रीका भरमा खेलाडी उत्पादन गर्दै आउनुभएको छ । ‘व्यक्तिको खाली जग्गालाई सम्याएर खेलमैदानका रूपमा प्रयोग गर्दै आएका छौं,×’ उहाँले भन्नुभयो । बागमती प्रदेश सरकारको पहलमा भकुण्डेबेसी बजारदेखि दुई किलोमिटर टाढा अभ्यास गराउन एउटा हल निर्माण गरिँदै छ । ‘हल निर्माण भएपछि प्रशिक्षण दिन सहज हुनेछ,’ लामाले भन्नुभयो ।

ADVERTISEMENT

खासमा सबै खेलको प्रशिक्षण गराउन राज्यले सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ । ‘खेललाई राज्यले प्राथमिकता दिएको देखिँदैन,’ उहाँले भन्नुभयो, ‘जिल्ला, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन र प्रतियोगितामा सहभागी गराउन आफैंले लगानी गर्नु परिरहेको छ ।’ खेलाडीले खल्तीबाट खर्च गरेर प्रतियोगितामा सहभागी हुनुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको लामा बताउनुहुन्छ ।

स्थानीय तहसँग व्यवस्थित खेलमैदानका लागि माग गर्दै आएको उहाँको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा प्रशिक्षकले खुला चौरमा नै प्रशिक्षण दिँदै आएका छन् । जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष रघुवर प्रधानले भौतिक पूर्वाधारको व्यवस्था नहुँदा खेलाडी उत्पादनमा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक अभावका कारण खेलाडी इच्छा हुँदाहुँदै पनि खेल्न सकिरहेका छैनन् ।’

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइबाले पछिल्लो समय स्थानीय तहहरूले ‘एक पालिका, एक खेलमैदान’ को अवधारणाका साथ बजेट व्यवस्थापन गर्दै आएको बताउनुभयो । पूर्वाधार निर्माणमा ध्यान जान थालेको उहाँको भनाइ छ । प्रदेश सरकारसँग खेलमैदानको माग गर्दै आएको वाइबाले बताउनुभयो । ‘खेलाडीले आफ्नै प्रयासमा प्रतियोगिता खेल्दै आएका छन्,’ उहाँले भन्नुभयो ।

प्रदेश सरकारले आफ्नो नीतिमा ‘एक वडा, एक कभर्ड हल, एक पालिका, एक खेल मैदान’ समेटेको छ । आगामी दिनमा पूर्वाधार निर्माणले तीव्रता पाउने वाइबाले आशा गर्नुभयो । चालु आवमा पनि विभिन्न स्थानीय तहले खेलकुदका लागि बजेट छुट्याएका छन् । व्यवस्थित खेलमैदान र कभर्ड हल नहँुदासम्म खेलाडी घामपानीको पर्वाह नगरी व्यक्तिको जग्गामा खेल्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?